सन्दीप लामिछानेलाई इन्टरपोलमार्फत् पक्राउ गर्ने तयारी



काठमाडौं । प्रहरीले नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान सन्दीप लामिछानेलाई इन्टरपोलमार्फत् पक्राउ गरी ल्याउने तयारी गरेको छ । बलात्कारको आरोप लागेका सन्दीप लामिछाने नेपाल नफर्किएपछि प्रहरीले इन्टरपोलमार्फत् पक्राउ गरी ल्याउने तयारी गरेको हो ।

नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) धिरजप्रताप सिंहका अनुसार सन्दीपलाई इन्टरपोलमार्फत् खोजेर नेपाल ल्याउने प्रक्रिया अघि बढाइएको हो । उनले इन्टरपोलमार्फत् सदस्य राष्ट्रहरूलाई जानकारी गराएर सन्दीपको खोजी गर्ने र नेपाल ल्याउने प्रकृया अगाडि बढाइएको जानकारी गराए ।

एक नाबालिग किशोरीले आफूलाई बलात्कार गरेको भन्दै सन्दीपविरुद्ध उजुरी हालेपछि उनी सम्पर्कविहीन भएका थिए । क्यारेवियन लिग खेल्न वेस्ट एन्डिज पुगेकै बेला उनीबिरुद्ध गौशाला प्रहरीमा उजुरी परेको थियो । त्यसपछि सन्दीप क्यानको सम्पर्कमा आएका थिए ।

साथै क्यानले सन्दीपलाई नेपाली राष्ट्रिय क्रिकेट टोलीको कप्तानबाट निलम्बन गर्ने निर्णय गरेको थियो । त्यसपछि सन्दीपले सामाजिक संजालमार्फत आफू दोषी नभएको दावी गर्दै कानूनले सहि र सत्यतथ्य छानविन गर्ने अपेक्षा गरेका थिए ।

प्रकाशित मिति : २०७९ असोज २ गते आइतवार