‘कुकुर्नी कमिनी’ले पाइन् नया नाम र नागरिता ! ‘सबैले कुकुर्नीको परिवार भनेर अपमान गर्थे



‘कुकुर्नी कमिनी’ले पाइन् नया नाम र नागरिता ! ‘सबैले कुकुर्नीको परिवार भनेर अपमान गर्थे

बागलुङ — घुम्ती टोलीले नागरिकतामा जथाभावी नाम लेखिदिँदा अपमानित जीवन बिताइरहेकी ताराखोला गाउँपालिका–४ की सावित्रा कामीले ३५ वर्षपछि आफ्नै नाममा नागरिकता पाएकी छन् । ५६ वर्षीया सावित्राको नागरिकतामा नाम ‘कुकुर्नी कमिनी’ लेखिएको थियो ।

सहायक प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद पौडेलले सावित्रालाई सोमबार नागरिकताको प्रतिलिपि प्रमाणपत्र दिएका हुन् । राज्यको कानुन र निर्देशनअनुसार नागरिकता संशोधन गराएर वितरण गरिएको पौडेलले बताए । अपमानित नामका विषयमा समाचार प्रकाशन भएपछि गृह मन्त्रालयले नाम संशोधन गर्न निर्देशनसहित सबै जिल्ला प्रशासनलाई परिपत्र गरेको थियो ।

नागरिकता पाएपछि सावित्रासँगै रहेका उनका पति हस्तराम, छोरा भविलाल र छोरीले खुसी व्यक्त गरे । ‘सबैले कुकुर्नीको परिवार भनेर अपमान गर्थे, अब त सावित्रा नामले बोलाउँछन् होला,’ हस्तरामले भने, ‘नातागोताले पनि नाक खुम्च्याउँथे, अब कसैले अपमान सहनु नपरोस् ।’ सदरमुकामदेखि ७० किमि पश्चिमको बिसौना गाउँबाट उनीहरू नागरिकता लिन सदरमुकाम आएका थिए । आइतबार आए पनि समयमा काम नसकिएपछि सोमबार दिउँसो मात्रै सावित्राले नागरिकता हात पारेकी हुन् ।

म्याग्दीको मालिका गाउँपालिका–५ अर्मनमा २०२३ सालमा जन्मेकी उनी कान सुन्दिनन् भने बोली पनि प्रस्ट छैन । कुकुर्नी नाम पाएपछि समाजमा सबैले उनलाई हेला गर्थे । पति हस्तरामले भने, ‘कुकुर्नीको परिवारभन्दा मैले मात्र हैन, छोराछोरीले पनि अपमान भोग्नुपर्‍यो ।’छोरा भविलालले कक्षा ५ पढ्दापढ्दै विद्यालय छाडेका थिए । सबैले कुकुर्नीको छोरो भनेर जिस्क्याउँदा पढ्नै नमानेर छाडेको हस्तरामले बताए । पढाइ छाडेपछि भविलाल वैदेशिक रोजगारीमा साउदी हानिए । अहिले उनी ३० बर्षका भइसके ।

अपांगता भएकै कारण सावित्राले आफ्नो नामबारे बताउन नसक्दा घुम्ती टोलीका सदस्यले ‘कुकुर्नी कमिनी’ राखिदिएका थिए । घुम्ती टोली प्रमुख सुन्दरराज अर्यालले उक्त नागरिकतामा हस्ताक्षर गरेका छन् । नागरिकता संशोधन भएकाले अब सावित्राले मतदाता परिचयपत्र पनि संशोधन गर्न पाउने जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी गोकुल शर्माले बताए ।

इकान्तिपुर बाट

प्रकाशित मिति : २०७९ भाद्र ७ गते मङ्गलवार