परमादेशबाट बनेको सरकारले जनादेश प्राप्त गरे मान्छे कुट्दै हिँड्छन्: ओली



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालतको परमादेशबाट बनेको अहिलेको सरकारले निर्वाचनमा जनादेश प्राप्‍त गरे मान्‍छे कुट्दै हिँड्ने बताएका छन्।

शनिबार झापाको बिर्तामोडमा प्रोग्रेसिभ इन्जिनियर्स एसोसिएसनको दोस्रो प्रदेशस्तरीय अधिवेशनको उद्घाटन गर्दै गठबन्धनको सरकारले जनादेश प्राप्त गरे मान्छे कुट्दै हिँड्ने बताएका हुन्।

‘यो त परमादेशबाट बनेको सरकार, भोलि जनादेश पनि प्राप्त भयो भने यिनीहरूको हालत के हुन्छ। यिनीहरू कसरी उफ्रिन्छन्,’ उनले भने, ‘यिनीहरूले बाटोमा मान्‍छे कुट्दै हिँड्छन्। चड्याम्म गालामा हिर्कायो। किन हान्यो भन्यो भनेर सोध्यो भने हाम्रो सरकार छ भन्छन्।’

उनले अहिलेको सरकार बनेको एक वर्षमा देश तहसनहस भएको पनि बताए । आगामी मंसिर ४ गते हुने निर्वाचनपछि नेकपा एमालेको सरकार नबनेमा देश झन् बर्बादीतर्फ जाने उनले बताए।

झापाको बिर्तामोडमा भौतिक पूर्वाधार तयार भइसकेको इन्जिनियरिङ कलेज सञ्चालनका लागि इन्जिनियरिङ कलेजहरूकै सिन्डिकेटका कारण सञ्चालन हुन नसकेको ओलीले बताए।

आफूले उक्त कलेज सञ्चालनका लागि जोडबल गरिरहेको र जतिसक्दो चाँडो सञ्चालनका लागि आफ्नो प्रयास जारी राख्ने उनले बताए।

प्रकाशित मिति : २०७९ भाद्र ४ गते शनिवार