काठमाडौं : वैदेशिक रोजगार विभागले अल अरेबिया ओभरसिज प्रा.लि.का सञ्चालकविरूद्ध ८७ लाख रूपैयाँ ठगीको अभियोगमा वैदेशिक रोजगार न्यायाधिकरणमा मुद्दा दायर गरेकोे छ ।
वैदेशिक रोजगारीका लागि पोल्याण्ड तथा चेक रिपब्लिक पठाउने भनी रकम लिएर नपठाई ठगी गरेकोे उजुरीका आधारमा वैदेशिक रोजगार ऐनको दफा ४४ अनुसार वैदेशिक रोजगार न्यायाधिकरणमा बिगो र पचास प्रतिशत हर्जना तथा कैद माग गर्दै ठगीको मुद्दा दायर गरेको बताएको छ ।
विभागले इजाजत पत्र नम्बर ७४४/०६४/६५ भएको उक्त ओभरसिज प्रा.लि.का सञ्चालकहरू अमरबहादुर गुरूङ, मोहन प्रसाद चापागाईं र भरतबहादुर बुढाथोकीले यज्ञबहादुर सुनुवारलगायतबाट ५८ लाख रूपैयाँ र पासपोर्ट लिएको तर रोजगारीमा नपठाएको दाबीमा उनीहरूलाई ऐनको दफा ४४ अनुसारको कसुर गरेकोे पुष्टि भएको भन्दै न्यायाधिकरणमा ठगीको मुद्दा दायर गरेकोे हो ।
विभागले पीडितबाट ५८ लाख रूपैयाँ ठगी गरेकोे दाबीसहित त्यसको हर्जना ५० प्रतिशतले क्षतिपूर्तिसहित ८७ लाख असुल उपर हुनुपर्ने दाबी गरेको छ ।
ऐनको दफा ४४ मा म्यानपावर कम्पनीले विभागबाट स्वीकृति नलिई कामदार विदेश पठाए वा पठाउँछु भनी प्रलोभन दिई रकम उठाएमा लिएको रकम र त्यसको ५० प्रतिशत हर्जना भराई म्यानपावर कम्पनीको सञ्चालकलाई तीन लाख रूपैयाँदेखि पाँच लाख रूपैयाँ जरिवाना र तीन वर्षदेखि सात वर्ष कैद गरी इजाजतपत्र रद्द गर्ने व्यवस्था छ ।





