भैरहवा–अबुधावी उडान गर्दै बिज एयरलाइन्स
माधव ढुंगाना,भैरहवा — गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट जजिरापछि बिज एयरले अन्तर्राष्ट्रिय उडान गर्ने भएको छ । हंगेरीको उक्त वायुसेवा कम्पनीले यूएईको अवुधाबी–भैरहवा उडान गर्नेछ ।
बिज एयरले अबुधावी–भैरहवाबीच हवाई उडान सञ्चालनका लागि अन्तिम तयारी गरिरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक गोविन्दप्रसाद दाहालले बताए । बिज एयरले वैदेशिक रोजगारीका लागि आउने–जाने नेपाली श्रमिक र बाह्य पर्यटक दुवै खालका यात्रुलाई लक्ष्य गरेर यो उडान सञ्चालनको तयारी गरेको हो । उसले नजिकिँदा दसैं, तिहारलाई पनि लक्ष्य गरेको छ ।
‘बिज एयरले उडान सञ्चालनका लागि प्रस्तावसहितको तालिका बुझाइसकेको छ,’ दाहालले भने, ‘उसले विमानको सिट संख्याका आधारमा नेपाल नागरिक उड्डयन प्राधिकरणलाई बुझाउनुपर्ने धरौटी दिने क्रममा छ ।’ हवाई उडानको व्यवस्थापन मिलाउन बिज एयरलाइन्सका प्राविधिक टोली हंगेरीबाट साउन ५ मा भैरहवा आउने उनले जनाए ।
ए २३९ सिट संख्या रहेको बिज एयरलाइन्सले ३२१ निओ विमान सञ्चालनको अनुमति मागेको छ । उसले आउँदो अक्टोबर ३० देखि सातामा तीन उडान गर्ने गरी ६ महिनाको प्रस्तावित उडान तालिका बुझाएको छ ।
करिब ५ घण्टा समयको उडान हुने बिज एयरको विमान भैरहवा राति ९ बजे आइपुग्ने र राति १० बजे अबुधावीका लागि प्रस्थान गर्नेछ । प्राधिकरणले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय एयरलाइन्सहरूलाई आकर्षित गर्न विमान ल्यान्डिङ पार्किङलगायतका शुल्कमा सहुलियत दिएको छ । विमानस्थलमा उडान सञ्चालनबापत अन्तर्राष्ट्रिय एयरलाइन्सलाई अवतरण, पार्किङ, सुरक्षा र सञ्चार शुल्क एक वर्षका लागि शतप्रतिशत छुट दिइएको छ ।
हाल भैरहवा–कुवेतबीच सातामा तीन उडान सञ्चालन गर्दै आएको जजिरा एयरलाइन्सले आउँदो सेप्टेम्बर मध्यतिरबाट उडान संख्या बढाएर प्रतिदिन उडान गर्ने तयारीमा रहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका निमित्त महाप्रबन्धक तथा प्रवक्ता श्यामकिशोर साहले बताए ।
एयर अरेबियाले पनि भैरहवामा हवाई उडानको तयारी गरिरहेको साहले जनाए । ‘एयर अरेबियाले पनि सुरुमा सातामा तीनवटा उडान गर्ने तयारी गरिरहेको छ,’ उनले भने, ‘तर उसले उडान सञ्चालनका लागि आधिकारिक रूपमा प्रस्ताव भने पेस गरिसकेको छैन ।’
गत जेठ २ देखि कुवेत–भैरहवा उडान सुरु गरेको जजिरा एयरलाइन्सले सातमा तीनवटा उडानलाई नियमितता दिँदै आएको छ । कुवेत–भैरहवाका लागि जजिरा एयरलाइन्समा हवाई यात्रुको चाप बढ्दै जान थालेको छ ।





