
नदीमा मृत फेला परिन् शनिबारदेखि बेपत्ता भएकी अस्मिता
शनिबार बिहान बुटवलको गोलपार्क होटलमा १६ वर्षीया युवती मृत अवस्थामा फेला परेकी थिइन्। २४ घन्टा नबित्दै तिलोत्तमा नगरपालिका ३ ड्राइभरटोलकी २३ वर्षीया अस्मिता चुँदाली मृत अवस्थामा फेला परेकी छन्।
शनिबार मध्याह्न १२ बजेतिर ब्युटीपार्लर जान्छु भन्दै घरबाट हिँडेकी अस्मिता त्यसपछि सम्पर्क बिहीन भइन्। आइतबार दिउँसो १ बजेतिर उनी तिनाउ नदीमा मृत अवस्थामा फेला परेकी प्रहरीले जनाएको छ।
इलाका प्रहरी कार्यालयका अनुसार शनिबार मध्याह्नदेखि सम्पर्क बिहीन रहेकी अस्मिताको शव तिलोत्तमा नगरपालिका वडा नम्बर ६ पश्चिम पहुनीस्थित तिनाउ नदीको बीचमा घोप्टो परेर डुबेको अवस्थामा फेला परेको हो।
पश्चिम नवलपरासीको सुनवल नगरपालिका वडा नम्बर २ माइती भएकी अस्मिताको तिलोत्तमा ३ का अनिल चुँदालीसँग गत वैशाख २६ गते बिहे भएको थियो। बिहेपछि श्रीमान अनिल रोजगारीका लागि भारत गएका छन् भने अस्मिता सासूससुरासँग बस्दै आएकी थिइन्।
अस्मिता सम्पर्क बिहीन भएपछि घरपरिवारले माइती पक्षलाई शनिबार दिउँसै जानकारी दिएको थियो। घर र माइती दुवैतर्फबाट प्रहरीलाई खोजी गरिदिन आग्रह गरेका थिए। घटना थाहा पाएपछि खोजी गर्दै जाँदा आइतबार दिउँसो अस्मिताको शव फेला परेको प्रहरीले जनाएको छ।
माइती पक्षले हराएको छोरीको शव उठाउने बेलामा आफूलाई नबोलाएको भन्दै घटना शंकास्पद रहेको हुनसक्ने आरोप लगाएको छ।
अस्मिताका बुवा नागेन्द्र कटवालले छोरी हराएको र मृत अवस्थामा फेला परेको जानकारी गराए पनि आफूहरू घटनास्थल नआउँदै शव उठाएर पोस्टमर्टमका लागि अस्पताल लगिएकाले घटना शंकास्पद हुनसक्ने बताए।
प्रहरीले शव पोस्टमर्टमको लागि लुम्बिनी प्रादेशिक अस्पतालमा लगिएको र घटनाबारे थप अनुसन्धान भइरहेको बताएको छ।