देशभर ५३ हजार शिक्षक दरबन्दी आवश्यक छ : शिक्षामन्त्री पौडेल



काठमाडौं । शिक्षामन्त्री देबेन्द्र पौडेलले सामुदायिक विद्यालयमा न्यूनतम शिक्षक सुनिश्चित गर्नका लागि ५३ हजार शिक्षक दरबन्दी थप गर्नु पर्ने अवस्था रहेको बताएका छन् । शिक्षमन्त्री पौडेलले शिक्षक दरवन्दी मिलान प्रतिवेदनका अधारमा १२ हजार ८३५ शिक्षकको स्थान्तरण गरी मिलान गर्नु पर्ने देखिएको बताए ।

सो संख्या मध्ये ९ हजार ४९६ जना शिक्षक सम्बन्धित स्थानीय तहभित्र नै मिलान हुने एवं ३ हजार ३३९ जना शिक्षकको जिल्लान्तर सरुवाबाट मिलान हुने पर्ने अवस्था रहेको शिक्षामन्त्रीले संसदमा जानकारी गराएका छन् ।

यस्तै उनले न्यून रहेको शिक्षक दरवन्दी आपूर्तिका लागि यसै वर्ष माध्यमिक तहमा गणित, विज्ञान र अंग्रेजी विषयका ४ हजार ७५० जना र आधारभूत तह कक्षा ६–८ मा २ हजार ६०० जना गरी ७ हजार ३५० जना शिक्षक व्यवस्थाका लागि बजेट व्यवस्था गरिएको जानकारी गराए ।

उक्त संख्याका अतिरिक्त प्राविधिक विषयमा स्नातक तथा स्नातकोत्तर तहमा अध्ययन गरेका विद्यार्थीलाई इन्टर्नका रुपमा परिचालन गर्न बजेट व्यवस्था गरिएको पनि शिक्षामन्त्रीले संसदमा जानकारी दिए ।

प्रकाशित मिति : २०७९ जेष्ठ ३१ गते मङ्गलवार