काठमाडौंमा बालेनलाई पछ्याउँदै सिर्जना, पछि परे केशव



काठमाडौं । काठमाडौं महानगरपालिकाको एक लाखभन्दा धेरै मत गनिसक्दा मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन साहले फराकिलो अग्रता कायमै राखेका छन्।

आइतबार बिहानसम्म गणना भएको १ लाख ६ हजार ८५२ मत मध्ये शाहले ३८ हजार ३३३ मत पाएका छन्। यस्तै नेपाली कांग्रेसकी मेयर उम्मेदवार सिर्जना सिंह दोस्रो स्थानमा उक्लेकी छन्। यसअघि एमाले उम्मेदवार केशव स्थापित दोस्रो स्थानमा थिए।

आइतबार बिहानसम्मको मतगणना अनुसार सिर्जनाले २१ हजार २९९ मत पाएकी छन्। त्यस्तै तेस्रो स्थानमा झरेका स्थापितको मत २१ हजार ८ छ।

बालेन र सिर्जनाबीचको मतान्तर १७ हजार ३४ छ भने स्थापितसँग १७ हजार ३२५ छ। सिर्जना र स्थापितको मतान्तर २९१ मत छ। अहिलेसम्म वडा नम्बर १, २, ३, ४, ५, ६, ८, २७, २८, २९, ३०, ३१ र ३२ को मतगणना सकिसकेको छ।

त्यस्तै अहिले वडा नम्बर ७, ९, १०, ११, १२, २३, २४, २५ र २६ को मतगणना राष्ट्रिय सभा गृहमा जारी छ। यीमध्ये वडा नम्बर ७, ९, १०, ११ र २६ मा बालेनको अग्रता छ।

प्रकाशित मिति : २०७९ जेष्ठ ८ गते आइतवार