यस्तो छ ६ वटा महानगरको पछिल्लो मत परिणाम



काठमाडौं । स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत अधिकांश पालिकामा अन्तिम मत परिणाम आइसकेको छ। ६ महानगरमध्ये विराटनगर महानगरपालिकामा नेपाली कांग्रेसका नागेश कोइराला विजयी भइसकेका छन्। अन्यमा मतगणना जारी छ।

काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता लिइरहेका छन्। निर्वाचन आयोगको पछिल्लो मत परिणाम अनुसार ८२ हजार ९२१ मतगणना हुँदा शाहले ३१ हजार १५ मत प्राप्त गरेका छन्।

बालेनलाई पछ्याइरहेका नेकपा एमालेका केशव स्थापितले १६ हजार ५ सय २७ मत पाउँदा कांग्रेसकी सिर्जना सिंहले १६ हजार २ सय २४ मत प्राप्त गरेकी छन्।

यस्तै भरतपुर महानगरमा सत्ता गठबन्धनबाट मेयरकी उम्मेदवार बनेकी माओवादी नेत्री रेनु दाहालले अग्रता कायमै राखेकी छन्। उनले नेकपा एकालेका विजय सुवेदीसँग मतान्तर ४ हजारको हाराहारीमा कायम राखेकी छन्।

पछिल्लो मत परिणाम अनुसार रेनुको मत २४ हजार ६ सय ६० आउँदा उनलाई एमालेका विजयले २० हजार ६ सय ६३ मतसहित पछ्याइरहेका छन्। यहाँ स्वतन्त्रबाट उम्मेदवारी दिएका जगन्नाथ पौडेलले ८ हजार ८ सय ४० मत ल्याएका छन् ।

यस्तै ललितपुर महानगरपालिकाको मेयरका लागि जारी मतगणनामा गठबन्धनको साझा उम्मेदवार बनेका कांग्रेसका चिरीबाबु महर्जनले आफ्नो मतान्तर फराकिलो बनाएका छन्। पछिल्लो मतगणना अनुसार महर्जन आफ्ना निकटतम प्रतिद्वन्द्वी भन्दा ९ हजार ६ सय ९६ मतले अगाडि छन्।

महर्जनले २२ हजार ८ सय २० मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेबाट प्रत्यासी बनेका हरिकृष्ण ब्यञ्जनकार १३ हजार १ सय २४ मत पाएका छन् ।

उपमेयरतर्फ नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट उम्मेदवारी दिएकी मन्जली शाक्य बज्राचार्यले १२ हजार ९ सय ४ मत पाएर आफ्नो निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का प्रत्यासी बाबुराज बज्राचार्य भन्दा ३ हजार ७ सय २७ मतले अगाडि छिन्। माओवादी उम्मेदवार बज्राचार्यले ९ हजार १ सय ७७ मत प्राप्त गरेका छन्।

स्थानीय तह सदस्य निर्वाचन– २०७९ अन्तर्गत जारी मतगणनामा पोखरा महानगरपालिकामा सत्ता गठबन्धनका उम्मेदवारले अग्रता बढाएका छन् । पोखरा महानगरको जारी मतगणनामा गठबन्धनबाट प्रमुख पदका उम्मेदवार नेकपा ९एकीकृत समाजवादी०का धनराज आचार्यले २९ हजार ८०७ मत प्राप्त गरे।

प्रकाशित मिति : २०७९ जेष्ठ ७ गते शनिवार