ललितपुर । स्थानीय तहकाे जनप्रतिनिधि चयनका लागि ललितपुरकाे बागमती गाउँपालिकाका सबै मतदान केन्द्रमा शान्तिपूर्ण रुपमा मतदान जारी छ । स्थानीय तहकाे निर्वाचन कार्यक्रम अन्तर्गत देशभर मतदान जारी छ । गाउँपालिकाका प्रमुख, उपप्रमुख, वडा अध्यक्ष र वडा सदस्य चयनका लागि देशभरका ७५३ वटै स्थानीय तहमा विहान ७ बजेदेखि मतदान सुरु भइसकेको छ ।
ललितपुरकाे दक्षिणी भेगमा रहेकाे बागमती गाउँपालिकाका सात वटा वडाका १३ मतदान केन्द्रमा अहिले शान्तिपूर्ण मतदान भइरहेकाे छ । वडा नं. १ घुसेलबाट काँग्रेस जिल्ला सदस्य गणेश कुमार महतले दिएकाे जानकारी अनुसार त्यहाँका दुई वटा मतदान केन्द्रमा ६० प्रतिशत मत खसिसकेकाे छ । घुसेलमा झाँगलकाेट प्र. वि. र घुसेल मा.वि. मा मतदान केन्द्र रहेको छ।
त्यस्तै वडा नं. २ माल्टाकाे कालीदेवी मा. वि. मतदान केन्द्रमा मतदान जारी छ । माल्टाबाट ने. वि. संघका क्षेत्रीय अध्यक्ष राजकुमार थिङले दिएकाे जानकारी अनुसार १ बजेसम्म ७०० मत खसिसकेकाे छ । वडा नं ३ भट्टेडाँडामा महाकाली देवी मा. वि. र भट्टेडाँडा आधारभूत विद्यालयमा मतदान जारी छ । यहाँका दुवै केन्द्रमा जारी मतदानमा ४५ प्रतिशत भन्दा बढि मत खसेको छ।
वडा नं ४ प्युटारमा कालीदेवी मा. वि. मतदान केन्द्रमा मतदान जारी छ । यहाँको मतदान केन्द्रमा ६०० भन्दा बढि मत खसेको प्युटारबाट नेपाली कांग्रेसका जिल्ला सदस्य उद्धव दाहालले जानकारी गराए । त्यस्तै वडा नं ५ इकुडाेलकाे जनजागृति मा. वि र विज्ञानप्रभा आधारभूत विद्यालय मतदान केन्द्रमा मतदान जारी छ। यहाँका दुवै केन्द्रमा ५५ प्रतिशत भन्दा वढि मत खसिसकेकाे छ।
त्यस्तै वडा नं. ६ आश्राङकाे विद्याधिश्वरी मा. वि. चैनपुर र भगवती आधारभूत विद्यालय आश्राङ मतदान केन्द्रमा मतदान जारी छ । दुवै मतदान केन्द्रमा ५० प्रतिशत भन्दा वढि मत खसेको वडा अध्यक्षका उम्मेदवार नारायण भाेम्जनले जारी गराए ।
त्यस्तै वडा नं. ७ मा जनक मा. वि कटुवा, नारायणी मा.वि. गिम्दी र सुभाने आधारभूत विद्यालय सुभानेमा मतदान जारी छ । गिम्दीबाट बलराम जर्घाले दिएकाे जानकारी अनुसार १ बजेसम्म ६० प्रतिशत भन्दा बढि मत खसिसकेकाे छ।





