जनतासँग आँखा जुधाउनै सक्दैनन् विरबहादुर, पाँच वर्षमा भएन सार्वजनिक सुनुवाइ !



ललितपुर । स्थानीय निर्वाचनकाे माहोलले यतिबेला देश तातिरहेको छ । उम्मेदवारहरु यतिबेला घरदैलोमा व्यस्त छन् । यसैबीच ललितपुरकाे बागमती गाउँपालिकामा पनि उम्मेदवारकाे घरदैलो चलिरहेको छ ।

यसअघि कांग्रेसबाट पालिका अध्यक्ष निर्वाचित वीर बहादुर लाेप्चन फेरि पनि गठबन्धनको उम्मेदवारकाे रुपमा मैदानमा छन् । पाँच वर्षे कार्यकालमा देखिने गरि केही काम नगरेका लाेप्चनलाई यतिबेला भाेट के भनेर माग्ने भन्ने चिन्ता छ । देखिने र देखाउने काम केही नभए पछि लाेप्चनले जनतासँग आँखा जुधाएर भाेट माग्ने हैसियत राख्न सकेका छैनन् । घरदैलो कार्यक्रममा पनि कांग्रेसका कार्यकर्ता भेला गराएर नमस्कार गर्नु बाहेक वास्तविक जनतासामु उनको भेटघाट भएको छैन ।

लाेप्चनकाे पाँच वर्षे कार्यकालमा प्रत्यक्ष जनतासँग सार्वजनिक सुनुवाइ समेत हुन नसकेको गुनासो स्थानीयकाे छ। विकासका काम र पालिकाकाे गतिविधि बारे जनताको चासाे र गुनासो सुन्न सार्वजनिक सुनुवाइ गर्नुपर्ने भए पनि लाेप्चनले त्यो गरेनन् । पछिल्लो वर्ष काेराेना महामारीको बाहना देखाउँदै सार्वजनिक सुनुवाइबाट पन्छिएका लाेप्चनले अन्तिम कार्यकालमा भने एउटा युटुबर लगेर साँघुरो काेठामा कर्मकाण्डी सार्वजनिक सुनुवाइ गरे ।

उक्त कार्यक्रममा जनताको उपस्थित रहेन । कार्यकर्ता र केही कर्मचारीकाे उपस्थितिमा सुनुवाइ नामको कर्मकाण्ड गरेका लाेप्चनले जनताको जीवनशैलीमा तात्विक परिवर्तन ल्याउने केही काम नगरेको जनताको गुनासो छ । पालिकाले गरेको सम्पूर्ण गतिविधि समेट्न चलाइएकाे साइटमा समेत उनले सार्वजनिक सुनुवाइका कुनै तस्बिर राखेका छैनन् यसबाट पनि के पुष्टि हुन्छ भने लाेप्चनले सार्वजनिक सुनुवाइ गरेका छैनन् ।

प्रकाशित मिति : २०७९ बैशाख २३ गते शुक्रवार