जनयुद्धको आधार इलाकामा उपाध्यक्षका उम्मेदवार निसानकाे घरदैलो



ललितपुर । स्थानीय तहको निर्वाचनकाे पूर्वसन्ध्यामा देशभर उम्मेदवार घरदैलो अभियानमा छन्। यस्तै बागमती गाउँपालिकाका उम्मेदवार पनि घरदैलो अभियानमा जुटिसकेका छन् ।

बागमतीमा एमालेले अन्तिम नामावली प्रकाशन पूर्व नै घरदैलो अभियान सुरुवात गरिसकेको छ भने गठबन्धनका दलहरू शनिबारदेखि घरदैलो अभियानमा छन् । शनिबार बागमती गाउँपालिका ७ गिम्दीबाट घरदैलो अभियान सुरुवात गरेका गठबन्धनका उम्मेदवारले आइतबार बागमती ६ मा घरदैलो कार्यक्रम सकिसकेका छन् ।

जनयुद्ध ताका माओवादीकाे पकड क्षेत्र मानिने गिम्दी,आश्राङ्गमा गठबन्धनकाे तर्फबाट उपाध्यक्षकाे उम्मेदवार माओवादी केन्द्रका भक्त बहादुर दर्लामी (निसान)काे पक्षमा माहोल बनेको नेता कार्यकर्ता बताउँछन् ।

कार्यकर्ताकाे उत्साहले आफुलाई हाैसला मिलेको उम्मेदवार दर्लामी बताउँछन् । केन्द्रकाे निर्देशन बमोजिम बागमतीमा गठबन्धन गरिएको बताउँदै दर्लामीले माओवादी केन्द्र र कांग्रेसका कार्यकर्ताकाे भाेटले आफ्नो जित सुनिश्चित भएको दाबी गरे ।

घरदैलो कार्यक्रमकाे तेस्रो दिन साेमबार प्युटारमा कार्यक्रम गरिने माओवादीका नेता गाेविन्द न्याैपानेले जानकारी दिए । उनले गठबन्धनले कार्यकर्ता र जनतामा उत्साह छाएको दाबी गरे ।

बागमती गाउँपालिका जनयुद्ध ताका उपत्यका हेर्ने माओवादी नेता कार्यकर्ताका लागि आधार इलाका नै थियो । यहीँ बसेर उपत्यकाको रणनीति बन्ने गरेको नेताहरू बताउँछन् भने पछिल्लो समय विप्लव नेकपाले पनि यहीँ आधार इलाका बनाएर रणनीतिक याेजना बनाउने गरेको थियोे ।

प्रकाशित मिति : २०७९ बैशाख १८ गते आइतवार