परिवर्तन भयो कोरियन भाषा परीक्षाको कार्यतालिका, अब कहिले ?



काठमाडौं । रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत दक्षिण कोरिया जान लिइने कोरिया भाषा परीक्षाको कार्यक्रम पछाडि धकेलिएको छ । यसअघि भाषा परीक्षा वैशाख २६ गतेदेखि हुने भनिएकामा अब जेठ १५ गतेदेखि सुरु हुनेगरी कार्यतालिका परिवर्तन गरिएको हो ।

ईपीएस कोरिया शाखाका निर्देशक पुुष्पराज कटुुवालले ईपीएसको रोजगारीमा जानेको कोरिया भाषाको परीक्षा स्थानीय निर्वाचनका कारण २० दिनपछि सारिएको बताए । कोरियाको मानव संसाधन विभाग (एचआरडी)सँगको सल्लाह लिएर नै परीक्षा सारिएको उनले बताए ।

यही चैत १४ देखि २१ गतेसम्म ईपीएसमार्फत कोरिया जानका लागि आवेदन दिएकाहरूले पहिलो र दोस्रो चरणका भाषा र सीप परीक्षा वैशाख २६ देखि असोज २१ गतेसम्म सञ्चालन गर्ने तय भएको थियो । अब जेठ १५ गतेदेखि कात्तिकको पहिलो सातासम्म सञ्चालन गर्न सकिने भएको छ ।

ईपीएस शाखाका अनुसार सन् २०२२ मा नौ हजार सन् २०२२ का कृषि तथा पशुपालन क्षेत्रमा दुुई हजार ७४१ र उत्पादनमूलक क्षेत्रमा छ हजार ९१३ नेपाली लैजाने गरी नौ हजार ६५४ जनाका लागि आवेदन माग आएकामा करिब ४४ हजारको आवेदन परेको छ ।

कोरियन भाषा परीक्षामा विगतमा नयाँका लागि पीबीटी (पेपरबेस टेस्ट) र कोरियाबाट फर्केकाका लागि सीबीटी (कम्प्युटरबेस टेस्ट) गरिँदै आएकामा अब यूबीटी (युबिक्युट्सबेस टेस्ट) प्रणालीबाट लिइनेछ । यो प्रणालीमा प्रत्येक परीक्षार्थीलाई कम्प्युटरको सट्टा ट्याब्लेटबाट परीक्षा लिइनेछ ।

भाषा परीक्षाका लागि परेको आवेदनका आधारमा एक सिफ्टमा दुई सय जनाका दरले दिनमा चार सिफ्ट परीक्षा सञ्चालन गरेर दिनमा अधिकतम आठ सय जनाले परीक्षा दिने व्यवस्था मिलाइएको छ । शाखाले भैँसेपाटीमा रहेको दक्षिण कोरिया मानव संसाधन विभाग (एचआरडी)को कोरिया भाषा केन्द्रलाई तयारी अवस्थामा राखेको छ ।

सन् २००८ देखि बर्सेनि सञ्चालन हुँदै आएको ईपीएस श्रमिक भाषा परीक्षा कोरोना सङ्क्रमणका कारण पछिल्लो दुुई वर्ष हुन सकेन । ईपीएसअन्तर्गत हालसम्म ७७ हजार नेपाली कोरिया प्रवेश गरिसकेका छन् । त्यसमध्ये हाल ३५ हजार नेपाली कोरियाका विभिन्न साना तथा मझौला उद्योगमा कार्यरत छन् ।

कोरियाले उत्पादनमूलक, कृषि तथा पशुपालन, सेवा, निर्माण क्षेत्रमा विभिन्न १६ देशबाट श्रमिक माग गर्दै आए पनि नेपालबाट भने कृषि र उत्पादनमूलक क्षेत्रमा मात्र श्रमिक माग गरिँदै आएको छ । गोरखापत्र दैनिकमा खबर छ ।

प्रकाशित मिति : २०७९ बैशाख १६ गते शुक्रवार