काठमाडौं । नेपाल आयल निगमले पेट्रोलिय पदार्थको खपत घटाउन संवेदनशील क्षेत्र वा निकायबोहकका निजी तथा सरकारी सवारी साधनमा जोर विजोर प्रणाली सञ्चालन गर्न माग गरेको छ । मंगलबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई १० बुँदे प्रस्ताव पठाउँदै निगमले सवारी साधनमा जोर विजोर प्रणाली अपनाउन आग्रह गरेको हो ।
प्रस्तावमा भनिएको छ ,‘पेट्रोलियम पदार्थहरुमध्ये पेट्रोल र डिजेलको खपत कटौती गर्न संवेदनशील क्षेत्र वा नियकाबाहेकका निजी तथा सरकारी साधनहरु जोर विजोर प्रणालीमा सञ्चालन गर्ने ।’ निमगले अब आइतबार पनि सार्वजनिक बिदा थप्न सुझाव दिएको छ । शनिबारपछि आइतबार पनि सार्वजनिक बिदा दिइएमा सवारीसाधनको सञ्चालन कम भई तेलको खपत घट्ने निगमले जनाएको छ ।
प्रस्ताव पत्रमा सरकारी बैंक, नागरिक लगानी कोष, सञ्चय कोष लगायतका संस्थाबाट निगमलाई सहजरूपमा रकम उपलब्ध गराउन निगमले माग गरेको छ । यसको सम्पूर्ण व्यवस्था अर्थमन्त्रालयले मिलाउनुपर्ने र यदि यसो नभएमा निगमलाई कार्य सञ्चालनमा समस्या पर्ने पत्रमा उल्लेख छ ।
यसैगरी पेट्रोलियम पदार्थको आयात गर्दा तिर्नुपर्ने कर हटाउन पनि निगमले माग गरेको छ । ‘सरकारले पेट्रोलियम पदार्थमा लिँदै आएको भन्सार शूल्क, मूल्य अभिवृद्धि कर, पूर्वाधार कर लगायतका कर केही समयका लागि हटाउनुपर्छ । यसैगरी, एलपी ग्याँसमा लाग्ने प्रति सिलिन्डर २०० कर समेत हटाउनु पर्छ,’ पत्रमा उल्लेख गरिएको छ ।






