मन्त्रिपरिषदबाट प्रहरी नियमावली संशोधन स्वीकृत,नयाँ तीन पदमा बढुवाको बाटो खुल्यो



काठमाडौं । नेपाल प्रहरीमा बढुवा प्रयोजनका लागि सरकारले प्रहरी नियमावलीमा दसौं संशोधन गरेको छ । आइतबार बसेको मन्त्रिपरिषदको बैठकले प्रहरीमा नयाँ सृजना गरिएको तीन पदमा बढु्वाका लागि नयाँ नियमलाई स्वीकृत गरेको सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताएका छन् ।

नयाँ तीन पदमा बढुवामा एकपटकलाई प्रहरी अधिकारी र जवानको कार्य सम्पादन मूूल्यांकन सहित मौजुदा नियमावलीमा भएका नियमहरु हटाइएको हो । नयाँ नियम अनुसार अहिले रहेकै क्रमसंख्या अनुसार बढुवा गरिनेछ ।

प्रहरी प्रधान कार्यालयले यसअघिको क्रमसंख्या अनुसार ती पदहरुमा बढुवा गर्न नियमावली संशोधनको प्रस्ताव मन्त्रिपरिषदमा पठाएको थियो । प्रहरीमा तीन पद सईबाट वरिष्ठ सई, हवल्दारबाट वरिष्ठ हवल्दार र सिपाहीबाट सहायक हवल्दार थपिएको छ ।

यसअघि बढुवाका लागि प्रहरीमा कार्यसम्पादन मूल्यांकनलाई आधार लिइन्थ्यो । तर, ठूलो संख्यामा यी तीन पदमा बढुवा गर्नुपर्ने भएकाले कार्यसम्पादन मूल्यांकन गर्न समय नपुग्ने भएकाले यसअघिको क्रमसंख्या अनुसार बढुवा गर्न लागिएको हो ।

तर, प्रहरी निरीक्षकको (इन्स्पेक्टर) बढुवाका लागि भने कासमू अनुसार नै बढुवाका लागि आधार मानिनेछ, सोही अनुसार बढुवा वरीयता कायम हुनेछ ।

२०६६ देखि २०७१ सम्म जनपद प्रहरी समूहतर्फ प्रहरी नायब निरीक्षक पदमा बढुवा भई कार्यालय÷मातहतमा कार्यरत रहेका प्रहरी नायब निरीक्षकहरुको वरिष्ठ नायब निरीक्षकमा बढुवा हुन लागेको छ ।

यस्तै, २०७१ देखि २०७४ सम्म जनपद प्रहरी समूहतर्फ प्रहरी हवल्दार पदमा बढुवा भई कार्यालय÷मातहतमा कार्यरत रहेका प्रहरी हवल्दारहरुको वरिष्ठ हवल्दार र २०६४ देखि १५ असोज २०७० सम्म जनपद प्रहरी समूहतर्फ प्रहरी जवान पदमा नियुक्ति भई कार्यालय÷मातहतमा कार्यरत रहेका प्रहरी जवानहरुको सहायक हवल्दारमा बढुवा हुने भएको छ ।

हाल प्रहरीमा ४६ हजार २ सय १९ प्रहरी जवान छन् । प्रहरी हवलदार १४ हजार ९८९ र प्रहरी नायब निरीक्षक ९सई० ४ हजार २९६ छन् । अब नयाँ सिर्जन हुने प्रहरी सहायक हवल्दार पदमा १५ हजार ४०६ जना जवानको बढुवा हुने प्रहरी प्रधान कार्यालयले गरेको प्रस्तावमा उल्लेख छ । यो हालको प्रहरी जवान संख्याको एक तिहाइ हो ।

प्रहरी प्रधान कार्यालयका अनुसार ९८२ जनालाई वरिष्ठ नायब निरीक्षक, ४ हजार ३५५ जनालाई वरिष्ठ हवल्दारमा बढुवा गर्ने तयारी छ । संशोधित नियमावली अनुसार कार्यालय सहयोगीको पनि पाँच श्रेणी भएको छ । यसअघि कार्यालय सहयोगीको बढुवा हुँदैन थियो । उनीहरूको पनि सेवा–सुविधा बढ्ने भएको छ ।

प्रकाशित मिति : २०७८ चैत्र ९ गते बुधवार