भीम रावलको प्रश्न, ‘कालापानीमा भारतीय सेना आउँदा सुदूरपश्चिम घर भएका प्रधानमन्त्री देउवा कहाँ छन् ?’



काठमाडौं । नेकपा (एमाले)का नेता डा.भीम रावलले कालापानीमा भारतीय सेना आउँदा सुदूरपश्चिम घर भएका प्रधानमन्त्री शेरबहादुर देउवा कहाँ छन् ? भन्दै प्रश्न गरेका छन् । विहीबार एमाले अछाम-काठमाडौं सम्पर्क मञ्चको सम्मेलनमा बोल्दै नेता रावलले प्रधानमन्त्री देउवालाई यस्तो प्रश्न गरेका हुन् ।

त्यस्तै नेता रावलले लिम्पियाधुरा, लिपुलेक र कालापानीमा भारतीय हस्तक्षेप ढाकछोप गर्नका लागि सरकारले चीनले सीमा मिचेको भनेर प्रचार गरेको आशंका ब्यक्त गरेका छन् । नेता रावलले वार्ता नगर्ने तर, ‘सीमा मिच्यो’ भनेर प्रचार मात्रै गरिरहने हो भने यो भारतीय हस्तक्षेप ढाकछोप गर्ने षडयन्त्र मात्रै हुने बताएका हुन् ।

चीनले सीमा मिचेको हो भने किन वार्ता नगरेको ? भन्दै नेता रावलले प्रश्न गरेका छन्, ‘कर्णालीमा कांग्रेसका मुख्यमन्त्रीले चीनले सीमा मिचेको भनेका छन् । यदि चीनले सीमा मिचेको छ भने कांग्रेसकै मुख्यमन्त्री छन् । कांग्रेसकै परराष्ट्रमन्त्री छन् । सभापति देउवाजी आफैं प्रधानमन्त्री छन् । चीनसँग वार्ता कसले रोक्यो ?’

त्यस्तै चीनसँग वार्ता गर्न सरकारलाई डर लाग्छ भने जनताको तर्फबाट आफूले वार्ता गर्ने बताउँदै उनले भने, ‘चीनसँग वार्ता गर्न डर लाग्छ भने सरकारले निर्णय गरेर मलाई विशेष प्रतिनिधि बनाएर पठाओस् । म गएर कुरा गर्छु । चिनियाँ प्रधानमन्त्रीसँग नेपाली जनताको तर्फबाट वार्ता गर्छु ।’

उनले थप भने, ‘होइन यो गर्नुहुन्न भने कर्णाली प्रदेशमा सीमा मिचेको भनेर तपाईहरुले गरेको प्रचार लिम्पियाधुरा, लिपुलेक र कालापानीमा भारतीय हस्तक्षेप ढाकछोप गर्ने षडयन्त्र हो, याद गर्नुस् ।’

प्रकाशित मिति : २०७८ फाल्गुन १९ गते बिहिवार