शुक्रबारदेखि एसईई परीक्षाको प्रश्नपत्र छापिँदै



काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको एसईई परीक्षाको प्रश्नपत्र शुक्रबारबाट छपाइ शुरू गर्ने भएको छ । मंगलबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा भएको सुरक्षासम्बन्धी बैठकले करिब ५ लाख सेट अर्थात् करिब ५५ लाख थान प्रश्नपत्र छपाइ गर्ने गरी तयारी छ ।

जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको सेक्युरिटी प्रेसमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी गरी तीन तहको सुरक्षा घेराभित्र केन्द्रका करिब ४० जना कर्मचारीले प्रश्नपत्र छाप्नेछन् । नेपाली सेनाको सेनानी (मेजर) को नेतृत्वमा ३० जना सशस्त्र र नेपाल प्रहरीका ४५ जना गरी ७५ जना सुरक्षाकर्मीको घेराभित्र प्रश्नपत्र छपाइ हुनेछ ।

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक अर्जुनबहादुर रायमाझीले प्रश्नपत्रसम्बन्धी सम्पूर्ण तयारी पूरा भइसकेको जानकारी दिनुभयो । प्रश्नपत्र छपाइ गर्न उहाँसहितको टोली बिहीबार जनक शिक्षा प्रवेश गर्नेछन् । यस वर्ष अनलाइनबाट प्रश्नपत्र पठाउने तयारी भएको बताए पनि छपाइ गरेकै प्रश्नपत्र उपलब्ध गराउने भएको छ ।

बोर्डका अध्यक्ष डा.महाश्रम शर्माले परीक्षामा दुई प्रकारका मोडालिटी तयार गरिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो– ‘सुगम र नेट पुगेका केन्द्रमा अनलाइन र अन्य केन्द्रमा प्रश्नपत्र पुर्याउने तयारी गरेका छौं । मंगलबार जनक शिक्षा सञ्चालक समितिका अध्यक्ष एवं शिक्षा सचिव यादव कोइरालाको अध्यक्षतामा नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको उच्च सुरक्षा अधिकारीसहितको बैठकमा प्रश्नपत्र छपाउँदा अपनाउनुपर्ने सुरक्षाको विषयमा छलफल भएको थियो ।

जनक शिक्षा सामग्री केन्द्रका प्रवक्ता चित्र आचार्यले शुक्रबारबाट प्रश्नपत्र छपाइ हुने गरी सबै तयारी पूरा भएको बताउनुभयो । केन्द्रले प्रश्नपत्र छपाइ शुरु गरेको २५ दिनमा सम्पूर्ण काम सक्ने गरी तयारी गरेको आचार्यले बताउनुभयो । बोर्डले प्रदेशअनुसार फरक–फरक सेटको प्रश्नपत्र छपाइ गर्नेछ भने चैत मसान्तभित्रै प्रश्नपत्र ढुवानी शुरु गर्ने जनाएको छ ।

बोर्डका अध्यक्ष डा। शर्माले केही विषयमा प्रदेशअनुसार फरक प्रश्नपत्र छपाइ गर्ने व्यवस्था गरिएको जानकारी दिनुभयो । उहाँले कसरी छपाइ गर्ने भन्ने विषय गोप्य रहेकाले नीतिगत विषयमा अहिले नै जानकारी दिन नमिल्ने बताउनुभयो । ‘यस विषयमा एक÷दुई दिनभित्र बोर्डको बैठक बसेर सबै निर्णय गर्नेछ ।’ –उहाँले भन्नुभयो ।

बोर्डले विद्यार्थी संख्याभन्दा करिब १० प्रतिशत बढी प्रश्नपत्र छपाउनेछ । हरेक विषयको फरक–फरक सेट प्रश्नपत्र छपाइ गर्नेछ । बोर्डले अनलाइनबाट प्रश्नपत्र पठाउने विषयमा छलफल चलाए पनि छपाएरै प्रश्नपत्र पठाउने तयारी गरिरहेको छ ।

प्रश्नपत्र छपाइ गर्न पहिलो घेरामा नेपाली सेना, दोस्रोमा सशस्त्र प्रहरी र तेस्रो घेरामा नेपाल प्रहरी परिचालित हुनेछ । यसअघि पनि प्रश्नपत्र छपाइ गर्दा सोही व्यवस्था गरिएको थियो । बोर्डले यसअघि २०७६ सालमा छपाइ गरेको प्रश्नपत्र प्रयोग नगरी नयाँ छाप्ने निर्णय गरेको हो ।

गत वर्षको प्रश्नपत्र पुरानो भएको र सोही प्रश्नपत्र यो वर्षका लागि प्रयोग गर्दा लिक हुन सक्ने भएकाले नयाँ प्रश्नपत्र छपाइ गर्न लागिएको बोर्डको तर्क छ । त्यस बेला बोर्डले करिब २ करोड रुपियाँ खर्च गरी प्रश्नपत्र छपाइ गरेको थियो ।

परीक्षाको व्यवस्थापन गर्ने विषयमा दुई दिनअघि सौराहामा भएको बैठकमा परीक्षालाई थप व्यवस्थित गर्न आग्रह गरिएको थियो । प्रश्नपत्र वितरण, उत्तरपुस्तिका परीक्षणलगायतका विषयमा विशेष ध्यान दिन आग्रह गरिएको थियो । बोर्डअन्तर्गत १२ वटै प्रदेश परीक्षा कार्यालय, सामुदायिक र निजी विद्यालयका केही केन्द्राध्यक्ष, मन्त्रालयका अधिकारी र बोर्डका सबै सदस्य, बोर्डका दुवै परीक्षा नियन्त्रकलगायतको बैठकमा परीक्षाको संवेदनशीलतालाई विशेष ध्यान दिन आग्रह गरिएको थियो । प्रश्नपत्र छपाइका लागि करिब २१ करोड रुपियाँ विनियोजन गरिएको छ ।

यस वर्षको परीक्षा आगामी वैशाख ९ बाट २० गतेसम्म सञ्चालन हुँदै छ । परीक्षामा करिब ५ लाख विद्यार्थी सम्मिलित हुनेछन् भने दुई हजार परीक्षा केन्द्र कायम हुनेछ । कोरोना भाइरस सक्रमणका कारण २०७६ र २०७७ सालको एसईईको आन्तरिक मूल्यांकन भएको थियो । नेपाल समाचापत्रमा ईश्वरराज ढकालले खबर लेखेका छन् ।

प्रकाशित मिति : २०७८ फाल्गुन १८ गते बुधवार