स्थायी शिक्षकलाई आयो खुसीको खबर : निजामती सरह दुर्गम भत्ता र पर्यटन काजको व्यवस्था



काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नेपाल शिक्षक महासंघका ५१ बुँदे मागलाई कार्यान्वयन गर्ने भएको छ । सोमबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल र शिक्षक महासंघका प्रतिनिधिबीच माग कार्यान्वयन गर्ने सहमतिपत्रमा हस्ताक्षर भएको हो ।

सहमतिपत्रमा हस्ताक्षर गर्दै मन्त्रीपौडेलले लामो समयदेखि आन्दोलनरत शिक्षकहरुको मागहरु कार्यान्वयन गर्ने सहमति भएको बताए । “शिक्षकहरु पहिल्यै देखि आन्दोलनरत हुनुहुन्थ्यो,” मन्त्रीपौडेलले भने, “म पदमा बहाली भएपछि पनि उहाँका मागका विषयमा गम्भीर छलफल गरी कार्यान्वयन गर्ने विषयमा सहमति भयो ।”

सरकार र महासंघका प्रतिनिधिबीच भएको सहमती पत्रमा दश दिने पर्यटन काज , स्वास्थ्य विमा र दुर्घटना विमाको व्यवस्था निवामती सरह हुने उल्लेख छ । यस्तै शिक्षकलाई पनि निजामती सरह दुर्गम भत्ताको प्रबन्ध गर्ने सहमती भएको छ ।

शिक्षकको बढुवामा विशिष्ट, प्रथम द्वितीय र तृतीय गरी चार श्रेणी रहने र ग्रेडको विभेद हटाउँदै एकवर्ष पुग्नासाथ ग्रेड दिने सहमती समेत भएको छ ।

स्थायी शिक्षक बारे भयो यस्तो सहमती
१. एउटै तहमा १५ वर्ष काम गरेका र एकपटक पनि बढुवा नभएका शिक्षकको सामूहिक बढुवा गर्ने ।
२.शिक्षकको बढुवामा विशिष्ट, प्रथम द्वितीय र तृतीय गरी चार श्रेणी रहने ।
३. तल्लो तहमा स्थायी भएका र माथिल्लो तहको योग्यता भएका शिक्षकका लागि हरेक पटक आयोग खुल्दा निश्चित कोटा आन्तरिक प्रतिस्पर्धाका लागि छुट्याउने ।
४. उमेर ५० नाघेका र स्थायी सेवा १५ वर्ष पुरा भएका शिक्षकले अस्थायी सेवाबाट ५ वर्ष जोडी पेन्सन सहित अवकाश लिन सक्ने ।
५. उमेर ६० प्ग्दा पेन्सनका लागि अवधि अपुग भएका अस्थायी सेवाबाट बढीमा १० वर्षसम्म थपी निवृत्तीभरण पाउने व्यवस्था ।
६.सोझै प्रावि द्वितीय र नि।मा। द्वितीय मा स्थायी भएका र सोही तहबाट बढुवा भएका शिक्षकलाई माध्यमिक तहको समान पदमा समायोजन गर्ने ।
७. ग्रेड को विभेद हटाउने र एकवर्ष पुग्नासाथ ग्रेड दिने ।
८. दश दिने पर्यटन काज , स्वास्थ्य विमा र दुर्घटना विमाको व्यवस्था निवामती सरह हुने ।
९. आयोगबाटै छुट्टै प्र.अ.पदको प्रबन्ध र तलवको १५% प्र.अ. भत्ता ।
१०. प्राज्ञिक क्षेत्रका लागि छुट्टै मर्यादाक्रम ।
११. प्रसूती विदामा सट्टा शिक्षकको प्रबन्ध ।
१२. दुर्गम क्षेत्रलाई निजामती सरह दुर्गम भत्ताको प्रबन्ध ।

प्रकाशित मिति : २०७८ फाल्गुन १० गते मङ्गलवार