प्रहरी भर्नामा शारीरिक तन्दुरुस्तीको अस्पष्ट मापदण्ड, तालिम केन्द्रअनुसार निर्णय



काठमाडौं । सातै प्रदेशमा यतिवेला नेपाल प्रहरीको करिब दुई हजार जवानको भर्ना प्रक्रिया चलिरहेको छ । भर्ना प्रक्रियामा लिइने पहिलो परीक्षा ‘प्रारम्भिक स्वास्थ्य परीक्षण तथा शारीरिक तन्दुरुस्ती’को हो । तर, यसको नतिजाको तथ्यांक निकै विरोधाभासपूर्ण छ । पोखरास्थित तालिम केन्द्रमा परीक्षामा सहभागीमध्ये करिब ६४ प्रतिशत उत्तीर्ण भएका छन् जब कि विराटनगर र जनकपुरमा परीक्षार्थीमध्ये करिब ३० प्रतिशत मात्र उत्तीर्ण भएका छन् ।

एउटै मापदण्डका आधारमा हुने भर्नामा भिन्नता किन रु किनकि प्रहरी भर्नाको शारीरिक तन्दुरुस्तीको परीक्षामा मापनयोग्य र वस्तुगत मापदण्ड छैन, तजबिजीका आधारमा प्रहरीले निर्णय गर्ने भएकाले तालिम केन्द्रअनुसार उत्तीर्णदरमा ठूलो भिन्नता देखिएको हो । देशभरका तालिम केन्द्रहरूबाट प्राप्त विवरणअनुसार पोखरा र दिपायलमा उत्तीर्णदर उच्च छ भने विराटनगर र जनकपुरमा निकै कम छ ।

१ फागनुसम्मको विवरणअनुसार पोखरा तालिम केन्द्रमा परीक्षामा सहभागीमध्ये ६३.७० तथा दिपायलमा ६१.८४ प्रतिशत उत्तीर्ण भएका छन् । जब कि जनकपुरमा ३०.५१ र विराटनगर तालिम केन्द्रमा ३०.७७ प्रतिशत मात्र उत्तीर्ण भएका छन् । त्यस्तै, दुधौली तालिम केन्द्रमा उत्तीर्ण प्रतिशत ५१.२६, बुटवलमा ५५.८७, नेपालगन्जमा ४२.७२ र काठमाडौंमा ४९.२१ छ ।

भर्नामा एउटै मापदण्ड भए पनि यसरी उत्तीर्ण प्रतिशतमा ठूलो भिन्नता हुनुको कारण आफूअनुकूल व्याख्या र कार्यान्वयन हो । मापदण्ड वस्तुगत नहुँदा प्रहरी अधिकारीले तजबिजीका आधारमा भर्ना प्रक्रियामा पास र फेलको निर्णय गर्दै आएका छन् । कुनै तालिम केन्द्रमा सामान्य कमजोरी हुँदा पनि अनुत्तीर्ण हुने गरेका छन् भने अर्को तालिम केन्द्रका परीक्षार्थी भने ठूलै कमजोरी हुँदा पनि उत्तीर्ण हुने अवस्था छ । यसले प्रहरी भर्नामा रहेको बेथिति देखाउँछ ।

प्रारम्भिक स्वास्थ्य परीक्षण तथा शारीरिक तन्दुरुस्ती परीक्षामा उचाइ, छातीको चौडाइलगायत प्रावधान प्रहरी नियमावलीमै प्रस्ट भएकाले त्यसमा विवाद छैन । तर, भर्नामा शारीरिक तन्दुरुस्तीका अन्य विषयमा एक सामान्य मापदण्डका आधारमा तय गरिएको छ । जुन मापनयोग्य छैन । ‘बियरिङ टेस्ट’सम्बन्धी २० बुँदे मापदण्डको पहिलो नम्बरमा अंगभंगरकुरूप देखिने हुन नहुने उल्लेख छ । तर, कुरूपको व्याख्या छैन ।

दोस्रो नम्बरमा हातखुट्टा बांगोटिंगो र औँला ठीक नभएको हुन नहुने भनिएको छ । तर, कति डिग्रीसम्मलाई बांगोटिंगो मान्ने तय नहुँदा आफूअनुकूल व्याख्या गरेर निर्णय हुने गरेको छ । त्यस्तै, घुँडा जोडिएको, धेरै चेप्टो पैतला भएको, प्रस्ट बोली नभएको, ढाड कुप्रो भएको, शरीर पूरा झुक्याउन नसक्ने, बांगो शरीर भएको, उपचार नहुने दुबी भएको, कपाल झरेको, फुलेको वा रंगाएको पनि हुन नहुने मापदण्डमा राखिएको छ ।

उचाइअनुसार तौल नभएको, अनुहारमा दाग भएको, शरीरमा ट्याटु भएको, दुईभन्दा धेरै दाँत किराले खाएको तथा नसा फुल्ने समस्या भएकालाई भर्ना नलिइने उल्लेख छ । तर, यी मापदण्डको व्याख्या छैन । ‘कतिसम्म कपाल फुलेकोलाई अनुत्तीर्ण गराउने भन्ने छैन,’ एक तालिम केन्द्रमा कार्यरत प्रहरी अधिकारी भन्छन्, ‘त्यस्तै कतिसम्म नसा ठूलो भएकोलाई फुलेको भन्ने रु यस्ता धेरै समस्या छन्, जसले भर्ना प्रक्रियालाई अपारदर्शी बनाएको छ ।’

शरीरमा ट्याटु बनाएको हुन नहुने भन्ने छ, तर धार्मिक, सांस्कृतिक तथा सामाजिक परम्पराका रूपमा खोपिएका ट्याटुलाई छुट दिइएको छ । तर, कतिसम्म ठूलो ट्याटु भनेर उल्लेख छैन । अस्वाभाविक दाग हुन नहुने भनिएको छ, तर त्यसको व्याख्या नहुँदा भर्ना छनोटमा संलग्न प्रहरीले तजबिजीका आधारमा निर्णय लिने गरेका छन् ।

अझै मापदण्डमै नभएका टुक्रुक्क बस्न नसक्ने तथा हातमा काटेको खत हुनेलाई पनि फेल गराउने गरिएको छ । ‘हेजिटेसन मार्क’ भनिने त्यस्तो खत कतिसम्मलाई फेल गराउने भन्ने प्रस्ट नभएको एक प्रहरी अधिकारी बताउँछन् । प्रारम्भिक स्वास्थ्य परीक्षण तथा शारीरिक तन्दुरुस्तीको परीक्षामा सामान्यतया चिकित्सकलाई पनि सहभागी गराइँदैन । त्यसले पनि समस्या बढेको छ ।

यो मापदण्ड पनि ०६९ मै बनाइएको हो । प्रहरी प्रवक्ता विष्णुकुमार केसी भर्नामा ‘बेयरिङ टेस्ट’मा मापदण्डको थोरै अस्पष्टता रहेको र त्यसलाई सुधार्ने काम भइरहेको बताउँछन् । तालिम केन्द्रअनुसार उत्तीर्ण दरमा धेरै अन्तर देखिएको र तालिम केन्द्रबाट समेत यससम्बन्धी गुनासो आएपछि त्यसलाई थप वस्तुगत गर्न हालै एक कमिटी गठन गरिएको स्रोत बताउँछ । प्रहरी राष्ट्रिय प्रशिक्षण प्रतिष्ठानका एसएसपी बुद्धि गुरुङको नेतृत्वमा एक अध्ययन कमिटी गठन गरिएको छ । आजको नयाँपत्रिका दैनिक बाट

प्रकाशित मिति : २०७८ फाल्गुन ६ गते शुक्रवार