बागमती गाउँपालिकास्तरीय उपाध्यक्ष कप व्याडमिन्टन प्रतियोगिता सम्पन्न



ललितपुर । घुसेलमा आयोजित ललितपुरको बागमती गाउँपालिकास्तरीय उपाध्यक्ष कप खुला व्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । माघ ५ गते बुधबारबाट सुरु भएको प्रतियोगिता आज शुक्रबार सम्पन्न भएको हो। प्रतियोगितामा बागमती गाउँपालिका वडा नं। २ का श्याम लामा र राजेश तुम्सिङले प्रथम स्थान हासिल गरे। वडा नं.४ प्युटारका कल्याण लामा र नकुल बस्नेतले द्वित्तीय स्थान हासिल गरे । क्रिषण लामा, दिपाङ्कर तामाङ, विरेन्द्र मगर र उपेन्द्र स्याङ्तानले तृतीय स्थान हासिल गरे। श्याम लामा म्यान अफ द म्याच घोषित हुन सफल भए। प्रथम हुने खेलाडीले ३० हजार रुपैयाँ सहित मेडल, प्रमाणपत्र प्राप्त गरे। द्वितीय हुने खेलाडीले २० हजार रुपैयाँ सहित प्रमाणपत्र र मेडल प्राप्त गरे भने तृतीय हुने खेलाडीले १० हजार रुपैयाँ सहित प्रमाणपत्र र मेडल प्राप्त गरे।

कार्यक्रममा मन्तव्य राख्दै गाउँपालिका अध्यक्ष वीरबहादुर लोप्चनले राष्ट्रलाई विश्वमा चिनाउने माध्यम खेलकुद भएको वताउँदै अरु विकास निर्माणसंगै खेलकुद क्षेत्रलाई पनि प्राथमिकतामा राखेको वताए । अध्यक्ष लोप्चनले भने, ‘हामीले खेलकुदको विकासका लागि प्युटरमा रंगशाला बनाउन लागेका छौं। त्यस्तै व्याडमिन्टन खेलका लागि पनि बागमती गाउँपालिकाको उपयुक्त स्थानमा इन्डोर कोर्ट बनाउने व्यवस्था गर्ने हाम्रो लक्ष्य छ, त्यसका लागि पालिकाभित्रका खेलप्रेमी साथीहरूले प्रस्ताव ल्याउनु हुनेछ भन्ने अपेक्षा छ ।’ अध्यक्ष लोप्चनले विकास निर्माणका कामहरु हरेक वडामा समानरूपले गरिएको बताए ।

त्यस्तै गाउँपालिका उपाध्यक्ष रञ्जना घिमिरे तिमल्सिनाले आफूहरु निर्वाचित भएर आएदेखि नै खेलकुद क्षेत्रलाई समेत प्राथमिकतामा राखेर काम गरेको र सोही अनुसार बजेट विनियोजन गरेको उल्लेख गरिन्। उपाध्यक्ष घिमिरेले भनिन्,‘संविधानले दिएको अधिकार प्रयोग गर्दै हामी जनहीतमा काम गर्न निरन्तर लागि परेका छौं।’ आफ्नो ५ वर्षको कार्यकाल सकिन केही महिना मात्रै बाँकी रहेको तर्फ इङ्कित गर्दै उपाध्यक्षले भनिन, ‘हामी नीती निर्माण र कानुनको व्यवस्थापन गरेका छौं। अब आउने जनप्रतिनिधिहरुले सहज रुपमा काम गर्न पाउँछन्।’ खेलकुदमा महिलाको प्रतिनिधित्व कम भएकोले महिलाहरुलाई आगामी दिनहरुमा क्रियाशील भएर खेल्न उपाध्यक्ष घिमिरेको आग्रह थियो। उपाध्यक्ष घिमिरेले अहिले कोरोना महामारीको प्रकोप बढ्दै गरेको अवस्था भएकोले स्वास्थ्यको ख्याल गरेर कोरोना महामारीबाट बच्न पालिकावासीलाई आग्रह समेत गरिन ।

वडा अध्यक्ष जगत बहादुर लोले व्याडमिन्टन खेल सबै उमेर समुहका खेलाडीले खेल्न सक्ने भएकोले सबैलाई यस्ता प्रतियोगितामा भाग लिन आग्रह गरे। नेपाली कांग्रेस ललितपुर १ को ख प्रदेशसभापति ज्ञान बहादुर लोलेपालिकाले खेलकुदका कार्यक्रमहरुलाई प्राथमिकताका साथ राखेकोमा खुसी व्यक्त गरे। प्रदेश सभापति लोले व्याडमिन्टन खेल टेक्निकल खेल भएकोले स्थानीय स्तरमा हुने खेलले राष्ट्रियस्तरका खेलाडी तयार गर्न महत्त्वपूर्ण भूमिका पुग्ने बताए ।

बागमती गाउँपालिका खेलकुद विकास समितिका संयोजक बुद्धराज नेगी सात वटै वडाहरुमा खेलकुदका कार्यक्रमहरु प्रभावकारी रुपमा सञ्चालन गर्ने उल्लेख गरे। मुख्य एम्पायर मित्र राई महाँकाल युथ क्लबले आयोजना गरेको प्रतियोगिताले सबै खेलप्रेमीहरुलाई प्रोत्साहन गरेको वताउँदैं खेलाडीहरुले अनुशाशीत रुपमा खेलेर उत्कृष्ट प्रदर्शन गर्न सकेकोमा खेलाडीहरुप्रति हार्दिक आभार व्यक्त गरे।

प्रकाशित मिति : २०७८ माघ ७ गते शुक्रवार