आगामी चुनावमा प्रचण्ड र माधव आइसोलेशनमा, देउवा क्वारेन्टाइनमाः महेश बस्नेत



काठमाडौं । नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले तीन पार्टीका शिर्ष नेतामाथि व्यङ्ग्य गरेका छन् । दुई नेतालाई अहिले कोरोना लागेको र आगामी चुनावमा पनि आइसोलेशनमै राख्ने सन्देश कोरोनाले दिएको भन्दै माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालमाथि बस्नेतले व्यङ्ग्य कसेका हुन् ।

प्रेस चौतारी कास्कीले शनिबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले कांग्रेसलाई क्वारेन्टाइनमा राख्ने तर्क गरे । ‘कमरेड प्रचण्ड र कमरेड माधव नेपाल कोरोना संक्रमणले अहिले आइसोलेशनमा हुनुहुन्छ । प्रधानमन्त्रीज्यू क्वारेन्टाइनमा हुनुहुन्छ,’ उनले थपे, ‘यसपालिको कोरोनाले के सन्देश दिएको छ भने आगामी चुनावमा प्रचण्ड र माधव नेपाललाई आइसोलेशनमा राख्ने ।’

शेरबहादुर देउवाजीको पार्टीलाई क्वारेन्टाइनमा राख्ने र नेकपा एमालेलाई अगाडि बढाउने सन्देश दिन खोजेजस्तो देखिन्छ । केपी ओली सरकारले खोप ल्याएर लगाएकै कारण पछिल्लो समय मृत्युदर कम भएको नेता बस्नेतले दाबी गरे । प्रदेश सरकार हुनुरनहुनुको कुनै अर्थ नै नदेखिएको उनले बताए ।

‘हिजो केपी ओलीको सरकारले खोप ल्याएको, तपाईं हामीले ल्याएकै कारणले यो कोरोना भेरियन्टले ठूलो क्षति गर्न सकेको छैन । मृत्युदर धेरै कम छ । तर, अहिले बुस्टर डोज लगाउने विषयमा यो सरकारले किन नैरश्यता देखाइरहेको छ,’ उनले प्रश्न गरे ।

प्रकाशित मिति : २०७८ माघ २ गते आइतवार