कोरिया जानेहरुलाई खुसीको खवर ! एकैपटक यती धेरै कामदारलाई अवसर



काठमाडौं । दक्षिण कोरियाले रोजगार अनुमति प्रणाली (ईपिएस) अन्तर्गत सन् २०२२ मा ६६ हजार विदेशी कामदार लैजाने भएको छ । शुक्रबार बसेको विदेशी कामदार कोटा निर्धारण समितिको बैठकले आगामी वर्षका लागि यो कोटा निर्धारण गरेको हो ।

कोरियाले नेपालसहित पाकिस्तान, श्रीलङ्का, बंगलादेश, भियतनाम, फिलिपिन्स, उज्बेकस्थान, कम्बोडियासहित १६ वटा देशबाट विदेशी कामदार लैजाने गर्छ । सन् २०२२ को लागि उत्पादनमूलक क्षेत्रमा ४३ हजार, कृषि तथा पशुपालन क्षेत्रमा ९,९३० जना विदेशी कामदार कोरिया आउन पाउने छन् ।

माछापालन क्षेत्रमा ४,६४० जना तथा निर्माण क्षेत्रमा ३,९७० जना विदेशी कामदार कोरिया जान पाउने छन् । त्यस्तै सेवा क्षेत्रमा २६० जना विदेशी कामदार भित्र्याउने निणर्य गरेको छ ।

उक्त कोटामध्ये कोरियाली भाषा पास गरेर बसेका नयाँ कामदारको रुपमा ४२ हजार ५३० जना र २३ हजार ४७० कमिटेड ९प्रतिबद्ध कामदार० कामदारको रुपमा कोरिया आउन पाउने छन् । यस्तै एक वर्ष कुनै कम्पनीमा निरन्तर काम गरे कम्पनीले चाहेमा कमिटेड कामदारको रुपमा डाक्नसक्ने नियम रहेको छ । नेपालबाट कोरोना महामरीभन्दा पहिले बर्षेनी ५ हजारभन्दा बढी कामदार कोरिया आउने गरेका थिए ।

कृषि र उत्पादनमुलक क्षेत्रमा मात्रै आउने भए पनि नेपाली कामदारको संख्या उल्लेखनीय रहँदै आएको छ । महामरीका कारण लामो समयदेखि रोकिएको नयाँ तथा कमिटेड कामदार ल्याउने कार्य अहिले सुचारु भइरहे पनि यो वर्ष सीमित मात्र कामदार कोरिया आएका छन् ।

यो वर्ष ५२ हजार कामदार कोरिया ल्याउने योजना भए पनि कोरोना महामरीका कारण सम्भव नभएकोले सन् २०२२ का लागि विदेशी कामदारको कोटा बढाएर ६६ हजार पुर्‍याएको हो । गत वर्ष पनि ५६ हजार कोटा निर्धारण गरिएकोमा ३० हजार कामदार मात्रै कोरिया आएका थिए ।

यस्तै तत्कालको लागि कामदारको अभाव नहोस् भनेर जनवरी १ देखि अप्रिल १२ तारिखसम्म भिसा अवधि सकिन लागेका विदेशी कामदारहरूलाई थप एक वर्ष बस्न दिने निणर्य गरेको कोरियाली श्रम मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २०७८ मङ्सिर २५ गते शनिवार