श्रम कार्यालयमा मन्त्रीकाे छड्के : कर्मचारी चिच्याएपछि बिचाैलियाकाे भागाभाग



काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री किसान श्रेष्ठले ताहाचलस्थित वैदेशिक रोजगार श्रम कार्यालयमा आकस्मिक निरीक्षण गरेका छन् । मन्त्री श्रेष्ठ कसैलाई खबरै नगरी ताहाचलस्थित वैदेशिक रोजगार श्रम कार्यालयमा पुगेपछि बिचौलियाहरुको भागाभाग भएको छ ।

कर्मचारीहरू ‘मन्त्री आए मन्त्री आए’ भन्दै चिच्याएपछि कार्यालय परिसरमा रहेका बिचौलियाहरुको भागाभाग भएको थियो । मन्त्री श्रेष्ठ सामान्य सेवाग्राहीजस्तै भएर कार्यालयमा प्रवेश गरेका थिए । खबरै नगरी मन्त्री आएपछि कर्मचारीहरूबीच होहल्ला भएको थियो । श्रम कार्यालयमा बिचौलियाको रजगज चलेको गुनासो बढेपछि मन्त्री श्रेष्ठले छड्के निरीक्षण गरेका हुन् । त्यसक्रममा उनले गुनासो नआउने गरी काम गर्न कर्मचारीहरूलाई निर्देशन दिँदै अन्यथा राम्रो नहुने चेतावनी दिए ।

‘कुनै कर्मचारी र बिचौलियाका कारण सेवाग्राहीले दु:ख पाएको थाहा पाए राम्रो हुँदैन । यो कार्यालय जतनाको रोजीरोटीसँग जोडिएको छ । पारदर्शी भएर काम गर्नुहोला’, उनले निर्देशन दिँदै भने, ‘विगतमा के भयो थाहा छैन । अब राम्रो काम मिलेर गरौँ । कामदारलाई समस्या नहोस् भन्ने मेरो मान्यता हो ।’

उनले एक हजार जनालाई दिइँदै आएको टोकन बढाएर १५ सय पुर्‍याउन निर्देशन दिए । महिला र पुरुषलाई छुट्टाछुट्टै लाइनमा राखेर श्रम स्वीकृति दिन, सेवाग्राहीको गुनासो सुन्न हेल्प डेस्क राख्न, कागजात पुगेका सेवाग्राहीको तत्काल आवेदन लिन र छिटो छरितो सेवाका लागि आवश्यक उपकरण थप्न पनि मन्त्री श्रेष्ठले निर्देशन दिए । उनले कार्यालयमा भोगेका समस्याबारे सेवाग्राहीसँग पनि जानकारी लिएका थिए ।

प्रकाशित मिति : २०७८ मङ्सिर १ गते बुधवार