काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपालले राजनीतिक बाटो बिराएकोमा आश्चार्य प्रकट गरेका छन् । धनकुटाको खोकुछिन्ताङमा सोमबार आयोजित पार्टीको जनसभालाई सम्बोधनका क्रममा अध्यक्ष ओलीले भने ‘कांग्रेस त यति थोत्रो भइसक्यो कि अब कामै लाग्दैन। थोत्रो पार्टी भइसकेको छ अब यसको काम छैन । तर त्यही थोत्रो पार्टी कांग्रेसका पछाडि लाग्ने कस्ता होलान् ।’
ओलीले कांग्रेसको पछि लागेर पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले दुईतिहाइको सरकार ढालेको आरोप पनि लगाए । यसैबीच नेकपा माओवादी केन्द्रबाट चुनाव जितेका दुईजना वडा अध्यक्ष नेकपा एमालेमा प्रवेश गरेका छन् ।
आज शहीदभूमि गाउँपालिकाको छिन्ताङमा आयोजित एमालेको सभामा धनकुटा नगरपालिका ९ मा नेकपा माओवादीबाट निर्वाचित वडाध्यक्ष सन्दीप रायमाझी र महालक्ष्मी नगरपालिका ३ मा नेकपा माओवादीबाटै निर्वाचित वडाध्यक्ष भरत थापालगायतका नेतारकार्यकर्ता एमालेमा प्रवेश गरेका हुन् ।
अध्यक्ष ओलीले एमालेको सभामा हजारौँको उपस्थिति हुने गरेको भन्दै अरु पार्टीको सहभागिता केही सयमा सिमित हुन थालेको बताए। एमालेको सभा बेग्लै भव्य रुपमा हुने गरेको बताए । यो सभामा पनि खुट्टा टेक्ने ठाउँ नभएको भन्दै ओली उत्साहित भएका थिए ।





