म भन्छु : ‘सीप नसिकी विदेश गए आकाशका तारा देखिन्छ’



खोटाङ । कतार जाने बेलामा मेरो भिसा ट्याक्सी ड्राइभरको थियो । ट्याक्सी चलाउनै आउँदैन अनि ट्याक्सी ड्राइभरको भिसामा गएर के गर्नुभन्दा म्यानपावरले काम उतै गएपछि सिकिन्छ भन्यो । त्यहाँ गएपछि थाहा भयो काम विदेश गएर हैन नेपाल मै सिकेर जानु पर्ने रहेछ । सीप नसिकी विदेश गएपछि काम सिक्ने हैन आकाशका तारा देखिने रहेछ । यहाँबाट जाँदा कागजात पनि सबै ट्याक्सी ड्राइभरको कामको थियो । म्यानपावरले एयरपोर्टमा केही सोधेमा ट्याक्सी ड्राइभर हुँ भन्नु है भनेको थियो । त्यसै भनियो पनि । तर कतार पुगेपछि त नसोचेको भयो । ट्याक्सी चलाउन आउँछ भन्यो । नआउने कुरा आउँदैन भनेँ । त्यसपछि त जे मन लाग्यो त्यही काममा लगायो । फेरि सप्लाई कम्पनी रहेछ । कहिले हेल्परको काम लगाउने त कहिले कहाँ काममा पठाउने ।

कम्पनीलाई भन्ने कुरा पनि केही थिएन । गल्ती आफ्नै थियो । किनकि सीप नसिकी ट्याक्सी चालकको काममा गएको त म नै हुँ नि त । काम गरे बापतको तलब पनि भनेको बेलामा नदिने । सात सय कतारी रियाल थियो जम्मा तलब पनि । रड बोक्नेदेखि भारी काम सबै हामी लेबर नै गर्न पथ्र्यों । तर तलब मात्र सात सय हातमा पर्दा लाग्थ्यो मैले पनि सीप सिकेर आउन पाएको भए । दुःख त लेबरले बढी गरेको हुन्छ तर तलब भने उसकै कम किन हुँदो हो भनेर आज बुझ्दै छु ।

लेबर काम गर्नेलाई अरूले त मान्छे नै नठान्ने रहेछन् । ट्याक्सी चालकहरूले हामीलाई लेबरको रुममा राखेर छि छि जुत्ता गनायो भन्दै हामीलाई गरेको घृणा म मरेर गए पनि भुल्दिन । आखिर काम लेबरको गरे पनि लेबर पनि मान्छे त हुन् नि । फर्कने बेलामा मेरो काम ट्याक्सी पुछ्ने थियो । तर त्यो वातावरणमा मैले कतारमा दुई वर्षभन्दा काम गर्न सकिनँ । दुई वर्ष दुःखैमा बिताएर स्वदेश फर्किएँ । काठमाण्डौमा आएपछि मैले मलेसियाको लागि एप्लाई गरेँ । त्यो बेला म्यानपावरलाई मैले सीप सिकेर जान्छु भन्दा टप ग्लोब कम्पनी हो । काम सिक्न पर्दैन भन्यो । भिसा पनि लागि हाल्यो । सीप सिक्ने ठाउँ पनि भेटिनँ । फेरि मलेसिया गएँ ।

मलेसियामा भने कतारमा जस्तो नराम्रो चाहिँ भएन । १२ सय मलेसियन रिंगिट तलब भयो । ग्लोब कम्पनीमा काम ठिकठिकै थियो । चार वर्ष बित्यो मलेसियामा । जति कमायो त्यो कमाई घर खर्च र ऋण पान तिर्दैमा सकियो । चार वर्षपछि मलेसियाबाट फर्कँदा हात पहिलेजस्तै रित्तै नै भयो । अनि मैले सोचेँ अब चाहिँ सीप सिकेर कुनै देश जान्छु केही कमाएर फर्कन्छु । अहिले काठमाण्डौको धुम्बाराहीमा रहेको सुसन पोलिटेक्निकल इन्स्टिच्युट प्राइभेट लिमिटेडमा निःशुल्क रूपमा स्काफोल्डिङको सीप सिकिरहेको छु ।

मलाई कतारमा काम गर्दा नै स्काफोल्डरमा रुचि थियो । यो काम चाहिँ कसरी सिक्ने होला जस्तो लाग्यो । आफ्नै देशमा आफूले चाहेँ अनुसारको काम निःशुल्क सिक्न पाएको छु । त्यो भन्दा ठुलो कुरा के चाहियो र अरू । कतारका कम्पनीका बारेमा पनि अलिअलि बुझेको छु । अब यो काम सिकेर म कतार नै जाने सोचमा छु । विदेश जाने बेलमा भन्न त म्यानपावरले भन्छन् सीप नसिकी जाँदा पनि हुन्छ । तर म्यानपावरको कुरामा भन्दा पनि आफूमा सक्षम भएर मात्र विदेश जानु पर्ने रहेछ । किनकि सीप नभएका मानिसलाई विदेशी भूमिमा हुने व्यवहार त म आफैले भोगेर आएको छु । त्यसैले यदि तपाईँ पनि वैदेशिक रोजगारीमा जाँदै हुनुहुन्छ भने कृपया सीप सिकेर मात्र जानुहोला ।

प्रकाशित मिति : २०७८ कार्तिक २३ गते मङ्गलवार