काठमाडौं । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार ७ दिनमा ढाल्न सक्ने आफूहरुमा खुवी रहेको तर त्यो नचाहने दावी गरेका छन् । साथै उनले ५ दलीय गठबन्धनलाई आगामी निर्वाचन ‘धोबी–चुटाइ’ गरेर पछार्ने तयारी भइरहेको पनि बताए ।
चितवन भ्रमणमा रहेका अध्यक्ष ओलीले भरतपुरमा आयोजित प्रथम महानगर अधिवेशन उद्घाटन गर्दै चाहे ७ दिनमै सरकार ढाल्नसक्ने बताए । कार्यक्रममा उनले भने, ‘यो सरकार सात दिनमा ढाल्न सक्छौँ । तर, अहिले ढाल्ने चाहना छैन । हामीलाई सरकार ढाल्ने हतारो छैन ।’ उनले सरकार ढालेर समय विताउनु भन्दा आगामी निर्वाचनको तयारी गर्नु प्रमुख भएको बताए ।
उनले भने, ‘हामीले चाह्यौँ भने सरकार ७ दिनमै डल्छ । तर हामी सरकार ढालेर समय खेरा फाल्दैनौँ । हामीलाई आगामी निर्वाचनको तयारी गर्नु प्रमुख हो । हामीले पाँच दलिय गठबन्धनलाई धोवीले लुगा पछारेझैँ पछार्नु छ।’





