काठमाण्डौं । नेपाली राष्ट्रिय फुटबल टोलिका प्रशिक्षक अब्दुल्लाह अल्मुताईरीले नेपाली फुटबल सर्मथकको माया र सद्भाव जिवनभर संगालेर राख्ने प्रतिक्रिया दिएका छन् । भारतसँगको फाईनल खेलमा पराजय भागेपछि प्रतिक्रिया दिँदै अल्मुताईरीले नेपाली समर्थकले नेपाल पुगेको पहिलो दिनबाट देखाएको सद्भाव अमुल्य रहेको बताएका हुन् ।
उनले भारतबिरुद्धको फाईनल हार्नुको बारेमा सोच्नुभन्दा पनि नेपाली टोलिको खेल्ने शैलीमा आएको परिवर्तनको बारेमा गर्व गर्न समर्थकहरुलाई आग्रह समेत गरेका छन् । उनले राष्ट्रिय टोलिको साफको फाईनल खेल्ने अनुभव नभएकोले टोलि हारेको जिकिर गर्दै नतिजा जस्तो आएपनि आफ्नो राष्ट्रिय टोलिलाई सधै माया गर्न आग्रह गरे ।
अल्मुताईरीले भने,‘यदि तापई साच्चै नेपाली फुटबल टोलिलाई माया गर्नुहुन्छ भने उनीहरुप्रति माया र सद्भाव कायम राख्नु्स् । अहिले नेपाली टोलि उत्कृष्ट खेलिरहेको छ र उनीहरुलाई माया गरिरहनुहोस् ।’‘तपाईलाई थाहाँ छ,हामीमा फाईनलको अनुभवको कमिका कारण भारतसँग हार्यौ । एक मिनटको अन्तरमा दुई गोल खादाँ पुनरागमन निक्कै कठिन हुन्छ । यदि नेपाली टोलिको यही शैली कायम रहोस् भन्ने चाहनुहुन्छ भने समर्थकहरुको समर्थन नै चाहिन्छ ।’
उनले भविष्यको योजनाको बारेमा गरिएको प्रश्नमा अहिले त्यो सबै सोच्नको निम्ति सर्वप्रथम एक देखि दुई सातको आरामको अवश्यकता रहेको बताए । उनले पछिल्लो ६ महिनाको समय निक्कै कठिन रहेको र अहिलेलाई आरामको आवश्यकता रहेको बताए । उनले अहिलेसम्म आफूलाई दिएको माया प्रति सबै समर्थकहरुलाई धन्यवाद समेत ज्ञापन गरे ।
‘अहिले म कुनै कुरामा यकिन गरेर बताउन सक्दिन’,अल्मुताईरीले भने,‘पछिल्लो ६ महिना अभ्यास र प्रशिक्षणले गर्दा निक्कै कठिन रह्यो र अहिलेलाई म कम्तिमा एक वा दुई साता आराम गर्न चाहन्छु । नेपाली समर्थकले अहिलेसम्म देखाएको मायाका लागि सबैलाई धेरै धन्यवाद छ ।’





