कार्यालय कब्जा गर्न हिँडेका एमाले निकट कर्मचारी संगठनका नेताहरू पक्राउ



काठमाडौं । नेपाल निजामती कर्मचारी संगठनका ९२ जना कर्मचारीलाई प्रहरीले पक्राउ गरेको छ । सोमबार साँझ उनीहरू पक्राउ परेका हुन् । केदार देवकोटा नेतृत्वमा संगठनका नेताहरू कार्यालयमा बसिरहेको समयमा अर्को पक्षले कार्यालय कब्जा गर्न खोजेको थियो । त्यसपछि दुवै पक्षबीच विवाद भएको थियो । विवादपछि प्रहरीले देवकोटासहितका ९२ भन्दा बढी कर्मचारी नेतालाई पक्राउ गरेको हो ।

केही दिन अघि माधव नेपाल पक्ष र ओली पक्षीय कर्मचारीहरूले छुट्टाछुट्टै भेला आयोजना गर्दै अध्यक्ष घोषणा गरेका थिए । त्यसपछि एउटाले कार्यालय नछोड्ने र अर्कोले कार्यालय कब्जा गर्ने रणनीति बनाएपछि विवाद भएको हो ।

निजामती कर्मचारी नेताहरू पक्राउ परेपछि एमाले नेता शंकर पोखरेलले आपत्ति जनाएका छन् । उनले फेसबुकमा लेखेका छन्, नेपाल निजामती कर्मचारी संगठनको कार्यालयमा भएको प्रशासनिक हस्तक्षेप निन्दनीय छ । संगठनका अध्यक्ष लगायत सबैलाई तत्काल रिहा गर ।

प्रकाशित मिति : २०७८ असोज ५ गते मङ्गलवार