काेरिया श्रमिक पठाउन अर्को सर्त, बायोमेट्रिक प्रणाली लागु भएपछि मात्र सुचारु हुने



काठमाडौं । करिब दुई वर्षदेखि रोकिएको कोरिया रोजगारी बायोमेट्रिक प्रणाली लागु भएपछि मात्र सुचारु हुने भएको छ । दक्षिण कोरिया सरकारले रोकिएको रोजगारी सुचारु गर्न बायोमेट्रिक प्रणालीलाई अनिवार्य गर्नुपर्ने सर्त थपेपछि अझै एक महिनासम्म कोरिया रोजगारी सुरु हुने छैन ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव सुर्यप्रसाद गौतमले कोरियाले बायोमेट्रिक प्रणाली अनिवार्य गर्नुपर्ने सर्त थपेपछि बायोमेट्रिकका लागि भौतिक पूर्वाधार जडानको काम भइरहेको बताए । ‘बायोमेट्रिक प्रणाली सुरु नभई कोरिया रोजगारी सुचारु नहुने भएपछि भौतिक पूर्वाधार निर्माणको काम सुरु भइरहेको छ,’ उनले भने, ‘यो काम आउँदो असोज मसान्तसम्म सम्पन्न गर्ने योजना छ ।

’कोरियाले बायोमेट्रिक प्रणालीलाई जोड दिनुको कारण नक्कली परीक्षार्थीलाई रोक्नु रहेको बताउने गरेको छ । ‘कोरियन भाषा परीक्षामा सहभागी हुने र कोरिया जाने व्यक्ति फरक फरक रहेको पाइएपछि कोरिया सरकारले बायोमेट्रिक प्रणालीलाई जोड दिएको ब्ुझिएको छ,’ गौतमले भने। विगतमा कोरियन भाषा परीक्षामा सहभागी भएका र फारम भरेका व्यक्ति फरकफरक परेपछि प्रहरीले समेत पक्राउ गरेको थियो ।

बायोमेट्रिक प्रणालीमा जो कोरियन भाषा परीक्षामा सहभागी हुने हो, सोही व्यक्तिको औंठा छाप हुने र जसले गर्दा रोजगारदातालाई झुक्याउन नपाइने भएकाले विश्वासिलो मानिन्छ । सचिव गौतमले बायोमेट्रिक प्रणालीमा परीक्षा फारम भर्दा लिइने औंठा छापलाई नै अन्तिम समयसम्म रोजगारदाताले प्रयोग गर्न पाउने बताए ।

सन् २०२० देखि रोकिएको कोरिया रोजगारी सुचारु गर्न नेपालले पटकपटक आग्रह गर्दै आए पनि कोरियाले यसअघि काठमाडौं–सिओल सिधा हवाई उडान हुनुपर्ने, नेपाली कामदार अनिवार्य १४ दिन क्वारेन्टिनमा बस्नुपर्ने र त्यसको खर्च कामदारले बेहोर्नुपर्ने सर्त राखेको थियो । ती तीन सर्त मान्न नेपाली पक्ष तयार रहेपछि कोरियाले बायोमेट्रिक प्रणालीको अर्को सर्त थपेको हो । नागरिक दैनिकबाट

प्रकाशित मिति : २०७८ भाद्र ३१ गते बिहिवार