एसईईको नतिजा प्रकाशित !



काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा प्रकाशित गरेको छ । विद्यार्थी अध्ययन गरेकै विद्यालयले गरेको मूल्यांकन देशभरबाट संकलन गरी बोर्डले प्रमाणित गरेर नतिजा प्रकशन गरेको हो ।

विद्यालयबाट आएको मूल्यांकनलाई प्रमाणीकरण गरी सार्वजनिक गरिएको परीक्षा नियन्त्रक रुद्र प्रसाद अधिकारीले जानकारी दिए । विद्यालयको आन्तरिक मूल्यांकनलाई नै प्रमाणीकरण गरेकोले यो वर्ष पनि बोर्डले नतिजा विश्लेषण नगरेको उनले जानकारी दिए ।

उनले भने, ‘हामीले विद्यालयले पठाएको मूल्यांकनलाई नै प्रमाणीकरण गरेकोले जीपीए छुट्याएर विश्लेषण गर्न बोर्डले आवश्यक ठानेन ।’परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले एसईई परीक्षा २०७७ को नतिजा बोर्डको वेबसाइट, एसएमएस र आईभीआर मार्फ प्राप्त गर्न सकिने बताएको छ ।

बोर्डले २०७७ सालको नियमित तथा ग्रेडवृद्धि परीक्षाको नतिजा इजी सर्भिस प्रालिबाट ३४९४९ आकाश टेक प्रालिबाट ३१००३ र जानकी टेक्नोलोजी प्रालि मार्फत् ३५००१ मा एसएमएस गरेर हेर्न सक्ने र नेपाल टेलिकममार्फत १६०० एनसेलबाट १६०० मा एसएमएस गरेर थाहा पाउन सक्ने बताएको छ ।

त्यसैगरी बोर्डले २०७७ को एसईईको नतिजा विभिन्न फर्म र संस्थाबाट समेत सार्वजनिक गर्ने जनाएको छ । बोर्डले बोर्डको अफिसियल बेवसाइटबाट, नेपाल टेलिकम, द कन्सेपट प्लस, एडुसञ्जाल, नेपाल टेलिकम, ईकान्तिपुर र एनसेलको वेबसाइटबाट सार्वजनिक गरेको छ ।

प्रकाशित मिति : २०७८ साउन २३ गते शनिवार