सरकारले श्रम ऐन अनुसार घोषणा गरेको सेवा सुविधाबाट आफूहरु बञ्चित रहेको भन्दै राजविराजका बालविकास र विद्यालयमा कार्यरत शिक्षक, शिक्षिका तथा कर्मचारीहरु आन्दोलित भएका छन् । उनीहरुले सोमबार प्रदर्शन गर्दै राजविराज नगरपालिकाका नगर प्रमुख शम्भुप्रसाद यादवलाई ज्ञापन पत्र बुझाएका छन् ।
आफूहरुको माग अविलम्ब सम्बोधन नगरे चरणबद्ध रुपमा आन्दोलन चर्काउने उनीहरुले चेतावनी समेत दिएका छन् । सरकारले आर्थिक वर्ष २०७८/७९ को बजेट वक्तव्यमा समेत बालविकासमा कार्यरत शिक्षक तथा विद्यालय कर्मचारीको पारिश्रमिक प्रति महिना १५ हजार हुने उल्लेख छ । जसअनुसार संघीय सरकारबाट ८ हजार र स्थानिय सरकारबाट ७ हजार रकम उपलब्ध गराउने व्यवस्था भएको बालविकास शिक्षक हकहित संरक्षण समितिका अध्यक्ष सुनिता यादवको भनाई छ ।
तर, संघीय सरकारबाट प्राप्त हुने ८ हजार रुपैयाँ मात्र स्थानिय तहबाट पाउने गरिएको उनीहरुको भनाई छ । बालविकासका शिक्षक र विद्यालयका कर्मचारीहरु लामो समयदेखि न्यून पारिश्रमिकमा काम गर्नुपर्दा जिविकोपार्जन कष्ठकर बन्दै गएको तथा आफूहरुको समस्याप्रति तीनवटै तहका सरकार उदासिन रहेकोले बाध्य भई सडकमा उत्रिनु परेको उनीहरुले बताए । आफूहरुको जायज माँग अविलम्ब पूरा गर्न सरकारसँग माग गरे ।





