ईसीडी शिक्षक र विद्यालय कर्मचारिको न्यूनतम पारिश्रमिक सुनिश्चित !



रुपन्देही | रुपन्देहीको सैनामैना नगरपालिकाले बाल विकासका शिक्षक र विद्यालय कर्मचारिहरुको न्यूनतम पारिश्रमिक सुनिश्चित गरेको छ । नगरपालिकाले आर्थिक वर्ष २०७८/०७९ को वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गर्दे नेपाल सरकारको नीति तथा कार्यक्रम अनुरुप विद्यालय बाल विकासका शिक्षक/शिक्षिका र विद्यालयका कर्मचारिहरुको न्यूनतम पारिश्रमिक सुनिश्चित गरिएको जनाएको हो ।

त्यसैगरी ̎प्रविधिमा आधारित अपनत्व सहितको गुणस्तरीय शिक्षा, सैनामैनाको प्रतिबद्धता ̎ भन्ने नारालाई साकार पार्न विद्यालयलाई सूचना प्रविधियुक्त वनाउने कार्यलाई निरन्तरता दिइने भएको छ ।

कक्षा कोठामा गरिने शिक्षण सिकाइमा सूचना प्रविधिको प्रयोगलाई प्रभावकारी वनाउन लागत साझेदारिमा एक शिक्षक एक ल्यापटप कार्यक्रम संचालन गर्ने र शिक्षकलाई सूचना प्रविधि मैत्री वनाउन प्रविधिमैत्री दक्ष शिक्षकहरुबाट अन्य शिक्षकहरुमा सीप हस्तानतरण गर्ने व्यवस्था नीतिमा समावेश गरेको छ ।

नगरपालिकाले विद्यालयको शैक्षिक गुणस्तर परीक्षण गरी उत्कृष्ट ठहरिएका ३ वटा विद्यालयलाई नमुना विद्यालयको रुपमा विकास गर्ने भएको छ । विद्यालयको शैक्षिक गुणस्तर परीक्षणको आधारमा उत्कृष्ट ठहरिएका शिक्षकलाई पुरस्कृत गरिने जनाएको छ ।

वालवालिकाहरुको सिकाइ कृयाकलाप अभिवृद्धि गरी शैक्षिक गुणस्तर सुदृढिकरण गर्न विद्यालयहरुमा विज्ञान प्रयोगशाला,पुस्तकालय तथा सूचना प्रविधिको पूर्वाधार विकास गरिने छ । आधारभूत तहको स्थानीय पाठ्यक्रम निर्माण गरी क्रमशः लागु गरिने छ। विद्यार्थी प्रतिभा पहिचान गरी उत्कृष्ट प्रतिभाहरुलाई प्रोत्साहन गरिने छ । कोभिड १९ का कारण भौतिक रुपमा उपस्थित भई विद्यालय सञ्चालन हुन नसकेको अवधीभर बैकल्पिक माध्यमबाट कक्षा सञ्चालन गरिने वार्षिक नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

विद्यार्थीको चाप बढी भएका विद्यालयको भौतिक पूर्वाधार विकासमा जोड दिइने र नगर भित्रका सवै विद्यालयहरुलाई एकै किसिमको रंगरोगन गर्न प्रोत्साहन गर्ने भएको छ । पूर्व प्राथमिक कक्षा देखि कक्षा ३ सम्म रमाइलो र सजावट युक्त वालमैत्री कक्षा व्यवस्थापन गर्दे प्राथमिक तहका सबै बालबालिकालाई विद्यालयमा निःशुल्क, स्वच्छ र स्वास्थ्यवर्धक खाजा, स्वच्छ खानेपानीको व्यवस्था,विद्यालयमा अध्ययनरत सवै छात्राहरुलाई आवश्यक पर्ने सेनेटरी प्याड निशुल्क उपलव्ध हुने व्यावस्था हुने भएको छ ।

प्रकाशित मिति : २०७८ असार ७ गते सोमवार