कक्षा १० को विद्यार्थी मूल्यांकन कार्यविधि तयार, यस्तो छ कार्यविधि



काठमाडौं | राष्ट्रिय परीक्षा बोर्डले ‘कक्षा १० को विद्यार्थी मूल्यांकन कार्यविधि, २०७८’ तयार गरेको छ । कार्यविधि अनुसार विद्यालयले विद्यार्थीको मूल्यांकन नतिजा असार २० गतेसम्म जिल्लाको शिक्षा विकास समन्वय इकाइमा पठाउनुपर्ने छ । साथै शिक्षा विकास समन्वय इकाइमा असारभित्र राष्ट्रिय परीक्षा बोर्डमा सबै विवरण पठाइसक्नु पर्ने छ । कार्यविधि अनुसार विद्यार्थीको मूल्यांकनको मुख्य अधिकार विषय शिक्षकलाई हुने भएको छ ।

अघिल्लो वर्ष ३ सदस्यीय मूल्यांकन समिति बनाइएकोमा यो वर्ष त्यसलाई परिवर्तन गरी ५ सदस्यीय मूल्यांकन समिति बनाउनुपर्ने कार्यविधिमा व्यावस्था गरिएको एसईई परक्षिा नियन्त्रक रुद्रप्रसाद अधिकारीले बताउनु भयो । ५ सदस्यीय मूल्यांकन समितिमा विद्यालयले गणित, अंग्रेजी, विज्ञान विषयका शिक्षक, प्रधानाध्यापक र एक जना वरिष्ठ शिक्षक समावेश गरी बनाउनुपर्नेछ ।

कोभिड -१९ महामारीका कारण भौतिक रुपमा एसईई परीक्षा सञ्चालन गर्ने अवस्थो नभएपछि यो वर्ष पनि राष्ट्रिय परक्षिा बोर्डले विद्यालयहरुको मूल्यांकनकै आधारमा नतिजा सार्वजनिक गर्ने निर्णय गरेको थियो । ‘कक्षा १० को विद्यार्थी मूल्यांकन कार्यविधि, २०७८’ तयार भएको र सोमबार सबै विद्यालयलाई कार्यविधि अनुसार विद्यार्थीको मूल्यांकनका आधारमा नतिजा तयार पर्न निर्देशन दिने तयारी रहेको एसईई परक्षिा नियन्त्रक रुद्रप्रसाद अधिकारीले बताउनु भयो ।

यस्तो छ कार्य विधि
विषय शिक्षकले विद्यार्थीको हाजिरी, प्रस्तुतिलगायतका विषयलाई हेरेर विद्यार्थीलाई २० प्रतिशत अंक दिन सक्ने छन् । विद्यालयले लिएको त्रैमासिक परीक्षाको मूल्यांकनका आधारमा ५५ प्रतिशत, प्रयोगात्मक २५ प्रतिशत अंक दिन सक्ने कार्यविधिमा व्यवस्था गरिएको छ । यदि प्रयोगात्मक नभएमा विद्यार्थीको हाजिरी, प्रस्तुतिलगायतका विषयलाई हेरेर २५ प्रतिशत र विद्यालयले लिएको त्रैमासिक परीक्षाको मूल्यांकनका आधारमा ७५ प्रतिशत अंक दिन सक्न मूल्यांकन आधार तोकिएको छ ।

कक्षा १० को विद्यार्थी मूल्यांकन कार्यविधि, २०७८’ले तोकेको आधारमा विषय शिक्षकले मूल्यांकन गरी विद्यालयको मूल्यांकन समितिमा पेश गर्नुपर्नेछ । त्यसरी विषय शिक्षकले पेश मूल्यांकनलाई समितिले कार्यविधिले व्यावस्था गरे अनुरुप छ÷छैन रुजु गरी प्रमाणित गर्नेछ । रुजु गरेर पैमाणित गरिसके पछि मूल्यांकन समितिले नतिजाको हार्डकपी, सफ्टकपी असार २० गतेभित्र शिक्षा विकास समन्वय इकाइलाई बुझाइ सक्नु पर्ने छ ।

प्रकाशित मिति : २०७८ जेष्ठ ३१ गते सोमवार