जुन ७ देखि नेपाल र कतारबीच नियमित उडान, नेपाल एयरलाइन्स र कतार एयरवेजले उडान भर्ने



काठमाण्डौ | आउँदो सोमबार अर्थात् जुन ७ देखि नेपाल र कतारबीच नियमित उडान सुरु हुने भएको छ । साताको प्रत्येक सोमबार नेपाल एयरलाइन्स र कतार एयरवेजले काठमाण्डौ दोहा उडान भर्ने नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । कतार एयरवेज सोमबार बिहान ९ बजेर १० मिनेटमा काठमाण्डौ आइपुग्ने छ भने त्यसै दिन ११ बजेर ५ मिनेटमा फेरि कतार उड्ने छ ।

प्रत्येक सोमबार नेपाल एयरलाइन्स रातीको १० बजेर ५ मिनेटमा दोहा उड्ने छ भने भोलिपल्ट बिहान ९ बजेर १० मिनेटमा काठमाण्डौ आइपुग्ने उडान तालिका तय भएको प्राधिकरणले जनाएको छ । याे उडान तालिका जुन ३० सम्मका लागि हाे । यस्तै टर्किस एयरलाइन्सले स्तानबुलका लागि प्रत्येक बिहीबार उडान भर्नेछ भने एअर बबल सम्झौता अन्तर्गत नेपाल एयरलाइन्सले सातामा दुई दिन काठमाण्डौ दिल्ली उडान भर्दै आएको छ ।

गएको वैशाख २३ गते मध्य रातीदेखि बन्द भएको अन्तर्राष्ट्रिय उडान सरकारले जेठ १८ गतेदेखि सहज बनाएको हो । चिन, टर्की र कतारमा सातामा एक उडान हुने गरी सरकारले उडान खोल्ने निर्णय गरेको छ ।

नेपाल फर्कनेका लागि यी नियम
खाडीको देश मलेसियाबाट स्वदेश फर्कने नेपाली श्रमिकले पाँच दिन अनिवार्य होटेल क्वरेण्टीनमा बस्नुपर्ने भएको छ । कोरोना सङ्क्रमण रोकथामका लागि बन्द गरिएको अन्तर्राष्ट्रिय उडान केही सहज भएसँगै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जारी गरेको नयाँ मापदण्ड अनुसार पाँच दिन अनिवार्य होटेल क्वरेण्टीनमा बस्नुपर्ने भएको हो ।

नयाँ मापदण्डमा खाडीका देश र मलेसियामा श्रम गरी स्वदेश फर्कने नेपालीले पाँच दिन होटेल क्वरेण्टीनमा बसी पीसीआर परीक्षण नेगेटिभ आएपछि थप १० दिन होम क्वरेण्टीनमा बस्ने गरी सम्बन्धित गन्तव्यमा जान अनुमति दिइने व्यवस्था गरिएको छ । आज मंगलबारदेखि सरकारले नेपाली श्रमिकको खाडीको मुख्य श्रम गन्तव्य कतारसहित तीन देशबाट नियमित उडान खोलेको छ । मलेसियासहित अरू खाडीका देशमा भने अझैँ नै उडानमा प्रतिबन्ध नै लगाइएको छ ।

यस्तो छ अन्य यात्रुका लागि तोकिएको मापदण्ड
आकस्मिक अवस्थामा बाहेक अन्यलाई १० दिन होटेल क्वरेण्टीन अनिवार्य गरिएको छ । आकस्मिक अवस्थामा बाहेक विदेशबाट आउने अन्य यात्रु नेपाली तथा विदेशी दुवैलाई अनिवार्य १० दिन होटेल क्वरेण्टीनको प्रावधान अहिले पनि दोहोरिएको छ । नेपाल आउँदा साथमा ७२ घण्टा यताको नेगेटिभ रिपोर्ट साथमा हुनुपर्छ । यात्रुको साथमा १० दिन होटेल बुकिङ गरेको प्रमाण पनि चाहिन्छ । हवाई उडानबाट आएका यात्रुको होटेल क्वरेण्टीनको खर्च आफैँले व्यहोर्नपर्छ ।

१० दिनसम्म बसेपछि भने लक्षण नदेखिएका वा परीक्षणबाट रिपोर्ट नेगेटिभ आएका सबै यात्रु गन्तव्यमा जान सक्नेछन् । आफ्नो धर्म, रीतिरिवाज, परम्परा अनुसार आफन्तको अन्तिम संस्कारका लागि विदेशबाट नेपाल आउने व्यक्तिको हकमा भने पालिकाको सिफारिसमा सिधै गन्तव्यमा जान दिइने छ । तर १० दिन होम क्वरेण्टीनमा बस्नपर्छ ।

सरकारले अब ठमेल, सुन्धारा, गोंगबु र कलंकी क्षेत्रका होटेलमा क्वरेण्टीन नतोकिने भएको छ । नयाँ मापदण्ड अनुसार अब यी क्षेत्रमा रहेका होटेललाई क्वरेण्टीनका रुपमा सूचीकृत गर्न नपाइने भएको हो । पर्यटन मन्त्रालयले होटेल क्वरेण्टीनका लागि होटेलको सूचीकरण गर्ने जिम्मा पर्यटन विभागको सिफारिसमा नेपाल पर्यटन बोर्डलाई दिएको छ ।

प्रकाशित मिति : २०७८ जेष्ठ १८ गते मङ्गलवार