गृहमन्त्रीमा महेश बस्नेतको सम्भावना !



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल पुर्नगठनको गृहकार्य गरिरहेका छन् । उनले चुनावलाई दृष्टिगत गरी मन्त्रिमण्डल पुर्नगठनको तयारी गरिरहेका हुन् । ओलीले यसपटक मन्त्रिमण्डल पुर्नगठनका कठिन घडीमा आफूलाई साथ दिने र हिम्मत देखाउनेहरुलाई अवसर दिने भएका छन् । जुझारु स्वभावकाले मन्त्रिमण्डलमा अवसर पाउने गरी तयारी भएको बालुवाटार स्रोतले जानकारी दिएको छ ।

कात्तिक र मंसिरमा चुनाव गरिछाड्ने र एमालेलाई जिताउने लक्ष्यका साथ ओलीले मन्त्रिमण्डलमा टिम छान्न सक्रियता बढाएका छन् । सबैभन्दा बढी ध्यान गृह मन्त्रालयमा दिइएको छ । चुनावमा प्रहरीको भूमिका महत्वपूर्ण हुँदा कडा निर्देशन दिनसक्ने पात्रको चयनमा ओली लागेका छन् । रामबहादुर थापा बादलले कठिन घडीमा साथ दिएको, सर्वोच्च अदालतको आदेशले गृहमन्त्री पद गुमाउनुपरेको र राष्ट्रिय सभाको चुनाव पनि हारेकाले उनैलाई जिम्मेवारी दिनेबारे पनि छलफल चलेको छ । तर, बादललाई उपप्रधानमन्त्रीमा बढुवा गरी अर्को मन्त्रालयमा लानेबारे समेत छलफल बढेको स्रोतले बताएको छ ।

गृहमा विष्णु पौडेल र इश्वर पोखरेलले इच्छा देखाइरहेका छन् । तर, कठिन घडीमा जुझारु शैलीमा प्रस्तुत भएका महेश बस्नेतलाई गृहमन्त्री बनाउनेबारे समेत छलफल चलेको छ । बस्नेतले जसपाको महन्थ ठाकुर पक्षधरको व्यवस्थापन गरेका थिए । उनकै भूमिकाले जसपाको ठाकुर समूह ओलीलाई साथ दिन तयार भएको थियो । डोलेश्वरमा लगेर जसपाका ठाकुर पक्षीय सांसदको व्यवस्थापन पनि उनैले गरेका थिए । विगतमा पनि समाजवादी पार्टी फुटाउने असफल प्रयासमा महेश बस्नेतले लागेका थिए ।

युवा संघको अध्यक्ष समेत भइसकेका बस्नेत कार्यकर्तामा राम्रो पकड बनाउन सफल भइसकेका छन् । युवा परिचालनमा उनको दक्षता छ । बस्नेतको विवादास्पद छवि रहेको भन्दै एमालेभित्र उनलाई रोक्ने प्रयास भइरहेको छ । मन्त्रिमण्डलमा गोकुल बाँस्कोटाको पुनरागमन हुनसक्ने बुझिएको छ । उनले सञ्चार मन्त्रालयको जिम्मेवारी फेरि पाउनसक्छन् । बाँस्कोटा विगतमा लेनदेनकाण्डले राजीनामा दिन वाध्य भएका थिए । उनी ओलीले विश्वास गरेकामध्ये पर्छन् । ओलीले रुचाएकामा कर्ण थापा पनि हुन् । उनी ओलीको पक्षमा माहोल तयार गर्न निकै अघि देखि सक्रिय हुँदै आएका छन् । कतिपयले महेश बस्नेत र गोकुल बाँस्कोटासँगै कर्ण थापालाई ओलीका तीन सशक्त खम्बाका रुपमा चिन्ने गर्छन् ।

प्रकाशित मिति : २०७८ जेष्ठ ९ गते आइतवार