चार्टर्ड फ्लाइटमा ब्रम्हलुट, २७ हजार लाग्ने साउदीअरबको भाडा १ लाख ८२ हजार



काठमाडौं । गएको बैशाख १६ देखि भएको निषेधाज्ञाका कारण बैदेशिक रोजगारबाट बिदामा आएका नेपाली नागरिक पुनः काममा फर्किन सकेका छैनन् । कोरोना महामारीले गर्दा अन्तर्राष्ट्रिय उडान बन्द भएका कारण उनीहरु रोजगारीमा फर्किन नपाएका हुन् । हजारौंको संख्यामा बिदामा आएका नेपाली अरब मुलुकमा फर्किनका लागि दैनिक जसो अनुरोध गरिरहेका छन् । देशको अर्थतन्त्र धानेको विप्रेषण(रेमिट्यान्स) पठाउने नेपालीलाई रोजगारी गर्दैआएको देशमा पठाउनका लागि सहजीकरण गर्नुपर्ने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय भने चार्टड फ्लाइटको नाममा तिनै नेपालीसँग ४ गुणा भाडा असुलीमा लागेको छ ।

पर्यटन मन्त्रालय स्रोतका अनुसार हवाई माफिया, ट्राभल एजेन्सी र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका केही अधिकारीले रोजगारीमा फर्किन चाहने नेपालीलाई ४ गुणासम्म भाडा लिएर विमान चार्टड गरेका छन् । मंगलबार (आज) साउदी अरबको दमामका लागि हिमालयन एयरलाइन्सका २ वटा चार्टड विमान उडिसकेका छन् । आज राति ९.५० मा अर्को फ्लाइट दमाम उड्दैछ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालय(टीआइएका) महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार आज हिमालयन एयरलाइन्सका २ वटा विमान दमाम उडिसकेका छन् भने राति ९ बजे अर्को विमान जाँदैछ । बिहान ८.५० मा एउटा, ११.४० मा अर्को विमान यात्रु बोकेर दमाम गएको र राति ९.५० मा दमाम उडानको तालिका छ ।

बोन ट्राभल्सका रमेश पौडेल र सम्राट ट्राभल्सका सीएन पाण्डेले हिमालयन एयरलाइन्सको विमान चार्टड गरी प्रतिब्यक्ति १ लाख ८२ हजार रुपैयाँसम्म असुली गरेका छन् । जबकि साउदी अरबको दमामका लागि नियमित उडानमा प्रतिब्यक्ति न्यूनतम २७ हजारदेखि अधिकृतम ४० हजार रुपैयाँ मात्र भाडा हो । तर कोरोना महामारीमा कमाउधन्दा संचालन गर्न यी दुई ट्राभल्सका संचालक पौडेल र पाण्डेले प्रतिब्यक्ति ५० हजार रुपैयाँ पर्यटन मन्त्रालयदेखि परराष्ट्र मन्त्रालयसम्म घुस बुझाउने सर्तमा चार्टड गर्ने अनुमति लिएको खुलासा भएको छ ।

हिमालयन एयरलाइन्सका संचालक यति एयरका सोनामछिरिङ शेर्पा हुन् । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमलाई चार्टर्ड अनुमति नदिई हिमालयन एयरलाइन्सलाई दिने कार्य पर्यटन मन्त्रालयका सचिव यादव कोइरालाले गरेको स्रोतले बताएको छ । बोन र सम्राटका संचालकद्वय पौडेल र पाण्डेले सचिव कोइरालासँग सेटिङ मिलाएर साउदी अरबको दमामका लागि चार्टड अनुमति लिएका हुन् ।

सचिव यादव कोइरालालाई प्रभावमा पारी बोन र सम्राटले चार्टड उडानबाट ब्रम्हलुट गर्न छुट पाएका छन् । १८ मे (आज) साउदीको दमामका लागि एउटा उडान गरिएको छ । जुन उडानमा साउदी जान आएका भारतीय नागरिकका लागि चार्टड गरिएको दाबी गरिएको छ । तर आजको उडानमा भारतीयको नाममा नेपालीलाई पनि लगिएको छ । र, नेपालीसँग न्यूनतम १ लाखदेखि १ लाख २ हजार रुपैयाँसम्म असुली गर्ने काम ट्राभल्सका संचालक पौडेल र पाण्डेले गरेका छन् ।

महामारीमा चार्टर्ड फ्लाइट गरी कमाउधन्दा संचालन गर्ने कार्यमा पर्यटन मन्त्री भानुभक्त ढकालसमेत मिलेको आरोप छ । मंगलबारबाट सुरु भएको चार्टर्ड फ्लाइटको शृंखला निरन्तर नै रहने पर्यटन मन्त्रालय स्रोतले बतायो । स्रोतका अनुसार प्रतिब्यक्ति ५० हजारका दरले कमिसन दिनेगरी चार्टर्ड फ्लाइट गरी महामारीमा कमाउन छुट पर्यटन मन्त्री ढकाल र सचिव कोइरालाले दिएका छन् । चार्टर्ड फ्लाइटमा भएको अनियमितताबारे पर्यटन मन्त्रालयका सचिव यादव कोइरालासँग प्रतिक्रियाका लागि ९८५१२.### मा पटक पटक सम्पर्क गर्दा पनि उनले रिसिभ गरेनन् ।

गत वर्ष ‘लकडाउन’ मा करिब ६० वटा विमान चार्टर गरिएको थियो । त्यतिबेला नेपाल वायुसेवा निगमका विमान चार्टर गरिएको थियो भने यो बर्ष हिमालयन एयरलाइन्सलाई जिम्मा दिइएको छ । गतबर्ष निगमको चार्टर फ्लाइटमा पनि अनियमितता भएको थियो । जसमा सोसाइटी ट्राभल्स, सुमेघ ट्राभल्स लगायतका ट्राभल्स मुछिएका थिए ।

प्रकाशित मिति : २०७८ जेष्ठ ५ गते बुधवार