खाडी तातेपछि मात्रै युरोप ब्यूँझियो



कतारमा जागिर गर्ने स्याङ्जाकी कवयत्री माया केसीले यो भावना आइतबार साँझ सामाजिक सञ्जालमा पोखिन्। उनको कटाक्ष खाडीका नेपालीलाई हेप्नेप्रति लक्षित थियो। कोभिड–१९ ले देशलाई थला पारिरहँदा परदेशी मन नदुःख्ने कुरै भएन । खाडीमा रहेका नेपालीले आफ्नो गाँस कटाएर पैसा सहयोग मात्रै गरेनन्, अक्सिजनका सिलिन्डरनै नेपाल पठाए, अनि धेरै नेपालीका साससँगै प्राण पनि बच्ने भए।

खाडीका नेपालीले रकम संकलन गरी ओमनबाट कोभिड–१९ विरूद्ध लड्न ५ सय ६० सिडिन्डर नेपाल पठाए। यता युरोप तिर भने सहयोगको अभियान बल्ल शुरु गरिएको छ। गैर आवासीय नेपाली संघ (एनआरएनए) हाँक्ने अगुवाहरु युरोपकै छन्, तर, सहयोग अभियान ढिला गरिएकोप्रति भने केहीले आलोचना पनि गरेका छन्। एनआरएनएको चुनाव ताका करोडौं रकम खर्चने, चर्का कुरा गर्ने तर देशलाई अप्ठेरो पर्दा सहयोग गर्न भने आनाकानी गरेको भन्दै सामाजिक सन्जालमा केहीले आक्रोश पोखेका छन्।

हुन पनि एनआरएनएको वर्तमान अध्यक्ष कुमार पन्त जर्मनी बस्छन्। उपाध्यक्ष बद्री केसी रसियाका र महासचिव डा. हेमराज शर्मा बेलायतबाट प्रतिनिधित्व गर्छन्। यही क्षेत्रबाट नेपालमा सहयोग पठाउन ढिला भएकोप्रति केहीको गुनासो छ।

कोरोनाको दोस्रो लहरको नयाँ भेरियन्टसँगै कोरोना संक्रमणदर तीव्र बढ्दा नेपालमा अहिले अक्सिजन लगायत स्वास्थ्य सामग्रीको चरम अभाव छ। खाडीका देश कतारबाट ३५ लाख, बहराइनबाट २१ लाख, ओमानबाट १५ लाख, युएईबाट १५ लाख र कुवेतबाट १३ लाख ५० हजार रुपैया संकलन गरी नेपालीले ती सिलिन्डर मे १६ मा नेपाल पठाएपछि चर्चा सर्वत्र भएसँगै अन्यत्र पनि सहयोग संकलन तिव्र भएको छ।

युरोपमा क्रियाशील राजनीतिक, सामाजिक तथा विभिन्न प्रकृतिका संघसंस्थाहरुले अहिले नेपालमा कोभिड–१९ विरुद्ध स्वास्थ्य सामग्रीको लागि रकम संकलन गरिरहेका छन्। एनआरएनए युरोप समिति, नेकपा एमाले निकटको प्रवासी नेपाली मञ्च, नेपाली कांग्रेस निकटको नेपाली जनसम्पर्क समिति, नेकपा माओवादी केन्द्रनजिकको नेपाली जनप्रगतिशील मञ्चले भिन्दाभिन्दै सहयोग संकलन गरेका छन्।

त्यस्तै गरि युरोपमा रहेका अन्य सामाजिक संस्थाले पनि सहयोग उठाउने क्रम अघि बढाएका छन्। ‘अक्सिजन पठाऔं– आफन्तको ज्यान बचाऔ’ नारा सहित अहिले एनआरएनएले विश्वभर अभियान थालेको छ। युरोपभरबाट एनआरएनएले आइतबार साँझसम्म १ करोड ८५ लाख रूपैयाँ संकलन हुने प्रतिवद्धता भएको जनाएको छ। ‘युरोपका २५ देशका एनआरएनए राष्ट्रिय समितिबाट आजसम्म सो रकम जम्मा भएको छ,’ एनआरएनए युरोप संयोजक नारायण आचार्यले भने, ‘हामीले सहयोग संकलन गर्न केही ढिला भए पनि अहिले द्रूत गतिमा अभियान अघि बढाएका छौं।’

सो रकम बराबरको स्वास्थ्य सामग्री १/२ दिनमै एनआरएनए केन्द्रले नेपाल सरकारलाई एकद्वार प्रणालीबाट प्रदान गर्ने र हरेक देशले एनआरएनएको खातामा रकम दाखिला गर्ने निर्णय भएको आचार्यले सुनाए। ३ करोड संकलन गर्ने लक्ष्य भएको बताइएको छ। युरोपका २८ देशमा एनआरएनए सक्रिय रहेको र हालसम्म २५ देशबाट प्रतिबद्धता आएको छ।

युरोपबाट सबैभन्दा धेरै रकम एनआरएनए बेलायतले अक्सिजन कन्सन्ट्रेसन खरिदका लागि त्यहाँका नेपाली संघसंस्था तथा व्यक्तिबाट करिब १ करोड़ २५ लाख रुपैयाँको स्वास्थ्य सामग्री प्रदान गर्ने घोषणा गरेको छ। ‘धेरै नेपालीको ज्यान बचाउन सकिन्छ भनेर आजको १० दिनभित्र १०० अक्सिजन कन्सन्ट्रेसन मेसिन अति प्रभावित क्षेत्रमा पुर्याउने लक्ष्य सहित काम थालिएको छ,’ एनआरएनए बेलायतका अध्यक्ष पूनम गुरुङले आइतबार फेसबुक मार्फत योजना सार्वजनिक गरेकी छन्।

एनआरएनए राष्ट्रिय समन्वय समिति रहेका युरोपका देशहरु बेलायतले १ करोड़ २५ लाख, बेल्जियमले १० लाख, रसियाले १० लाख, स्विजरल्याण्डले ५ लाख ८० हजार, जर्मनीले ५ लाख, नर्वेले ५ लाख, नेदरल्साण्डले ३ लाख ५० हजार, फ़्रान्सले २ लाख ५ हजार ७६३, डेनमार्कले २ लाख, चेक रिप्बलिकले २ लाख, आयरल्याण्डले २ लाख, साइप्रसले १ लाख, फिण्डल्याण्डले १ लाख, पोर्तुगलले १ लाख, स्विडेनले १ लाख, इज़रायलले १ लाख र माल्टाले ५० हजार रुपैयाको प्रतिबद्धता जनाएका छन्। वाँकि केही देशको प्रतिबद्धता पनि आउने युरोप संयोजक आचार्यले बताए।

प्रवासी नेपाली मञ्चले स्वास्थ्य सामग्री खरीद गर्ने योजनासहित अभियान अघि बढाएको छ। ‘आउँदो दुई हप्ता झनै कष्टकर हुने निश्चित छ। हामीले आफ्नो तर्फबाट गर्न सक्ने सहयोगलाई तिब्रता दिनैपर्ने छ। स्वास्थ्य सामग्रीको लागि,’ मञ्चका अध्यक्ष भक्त गुरुङले लेखेका छन्।

जनसम्पर्क समितिले धेरै देशमा सहयोग उठाइरहेको छ। नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका केन्द्रीय सदस्य तथा विदेश संयोजक गंगाधर गौतमले हालसम्म झण्डै ३० लाख रुपैयाँ संकलन गरेर देशका सुदुर पश्चिम, मध्य र पश्चिम नेपालका ३ स्थानमा कोभिड विरुद्ध काम गरिने बताए। ‘अबको १० दिनभित्र हामीले पैसा उठाएर योजनाबद्ध रुपमा देशका ३ ठाउँमा काम गर्ने छौं,’ गौतमले भने।

यता माओवादी केन्द्र निकटको नेपाली जनप्रगतिशील मञ्चले पनि हरेक देशबाट १ लाख रुपैयाँ संकलन गरेर झण्डै १ करोड़ पुर्याएर नेपालमा सघाउने अभियान अघि बढाएको छ। शनिवार माओवादीका नेता जनार्दन शर्माले प्रवासीहरुसंग छलफल गरेर कोभिड विरुद्ध नेपालमा सहयोग गर्न अनुरोध गरेको बताइएको छ। ‘सबै प्रबासी नेपाली दाजुभाइ दिदी बहिनीहरुलाई कोरोना महामारीबाट सिर्जित संकटपूर्ण घडीमा स्वास्थ्य सामग्रीहरुका निम्त्ति देशवासीलाई आआफ्नो ठाउँबाट सहयोग प्रदान गर्न अनुरोध गर्दछौं,’ माओवादी केन्द्र प्रवास समन्वय कमिटीका अध्यक्ष युवराज चौंलागाईंले भने।

अहिलेलाई अक्सिजन कन्सेन्ट्रटर मेसिन खरिद गर्ने, सिलिन्डर खरिद गर्ने, अक्सिजन प्लान्ट निर्माण गर्ने, जनचेतना अभिवृद्धि र स्वास्थ्यकर्मी तथा जनसेवामा संलग्नहरुलाई सहयोग गर्न आर्थिक संकलन अघि बढाएको अभियानकर्ताले बताएका छन्। युरोपमा क्रियाशील दर्जनभन्दा बढी संघसंस्थाहरुले छिटो रकम संकलन गरेर स्वदेश पठाउने तयारी गरेका छन्। कोभिड–१९ बाट पत्रकारहरु पनि प्रभावित भएकाले केही रकम संकलन गरी पठाउने तयारीमा रहेको नेपाल पत्रकार महासंघ युरोपका अध्यक्ष प्रेम परियारले जानकारी दिए।

प्रकाशित मिति : २०७८ जेष्ठ ५ गते बुधवार