ललितपुर । रिज लाइन इनर्जी लिमिटेडको पाँचौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। कार्तिक १७ गते ललितपुरको कुपण्डोलस्थित व्याङ्क्वेटमा सम्पन्न सभाले कम्पनीको आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रतिवेदन तथा विभिन्न प्रस्ताव पारित गरेको छ।
सभामा प्रस्तुत प्रतिवेदनअनुसार कम्पनीको चुक्ता पुँजी बढेर १ अर्ब १८ करोड ५० लाख रुपैयाँ पुगेको छ। आर्थिक वर्ष २०८१/०८२ मा कम्पनीको चुक्ता पुँजी ९२ करोड ४३ लाख रुपैयाँ रहेको थियो।
गोरखाको अजिरकोट गाउँपालिका–२, चेपेखोलामा ९.०५ मेगावाट क्षमताको सुपर चेपे जलविद्युत आयोजना सञ्चालन गरिरहेको कम्पनीले समीक्षा अवधिमा लक्ष्यभन्दा बढी विद्युत उत्पादन गरेको जनाएको छ। आर्थिक वर्ष २०८२/०८३ मा ५ करोड ४७ लाख ५६ हजार १८५ युनिट विद्युत उत्पादन गर्ने लक्ष्य राखिएकामा ५ करोड ५६ लाख ५१ हजार २४० युनिट उत्पादन भएको छ। यो लक्ष्यभन्दा १.६३ प्रतिशत बढी हो।
कम्पनीले उक्त आयोजनाबाट २०८० माघ ८ गतेदेखि व्यावसायिक विद्युत उत्पादन गर्दै आएको छ। सभामा आर्थिक वर्ष २०८२/०८३ को मुनाफाबाट १०.५३ प्रतिशतका दरले १२ करोड ४७ लाख ३६ हजार ८४२ रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्तावसमेत पारित गरिएको छ।
यसैगरी कम्पनीले अन्य जलविद्युत तथा ऊर्जा कम्पनीमा समेत लगानी विस्तार गरेको छ। काड. हाइड्रोपावर कम्पनीमा १५ करोड, दुधपोखरी चेपे हाइड्रोपावरमा ५ करोड, एस.एन. इनर्जीमा २ करोड ५० लाख र क्यापिटल सर्जमा २ करोड रुपैयाँ लगानी गरेको प्रतिवेदनमा उल्लेख छ।
कम्पनीले आगामी दिनमा सुक्खायामको विद्युत उत्पादन बढाउने लक्ष्य लिएको छ। साथै, ताप्लेजुङमा प्रस्तावित १२.५०४ मेगावाट क्षमताको मैवा खोला जलविद्युत आयोजनाको सर्वेक्षण अनुमतिपत्र प्राप्त गरी आवश्यक प्रक्रिया अघि बढाएको जनाएको छ।
















