काठमाडौं । टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेडको छैटौँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । शुक्रबार काठमाडौंको खिचापोखरीमा कम्पनीका अध्यक्ष अजय बल्लभ पन्तको अध्यक्षतामा सम्पन्न सभाले चार जना सञ्चालक निर्वाचित गर्नुका साथै आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन र वित्तीय विवरण पारित गरेको छ ।
साधारणसभाबाट रुपेश तामाङ, सुरेश कुमार स्थापित, मिरा पाण्डे र कुशल खरेल सञ्चालकमा निर्वाचित भएका छन् ।
सभाले सञ्चालक समितिका तर्फबाट अध्यक्ष पन्तले प्रस्तुत गरेको आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरेको छ । त्यसैगरी, लेखापरीक्षकको प्रतिवेदनसहित सोही आर्थिक वर्षको वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा अन्य वित्तीय विवरणसमेत अनुमोदन गरेको छ ।
सभाले आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गरेको छ ।
होल्डिङ कम्पनीमा रूपान्तरण गर्ने प्रस्ताव पारित
कम्पनीलाई भविष्यमा अन्य कम्पनी तथा परियोजनामा लगानी गर्न सहज बनाउने उद्देश्यले होल्डिङ कम्पनीमा रूपान्तरण गर्ने विशेष प्रस्तावसमेत साधारणसभाले पारित गरेको छ । यसका लागि कम्पनीको नाम परिवर्तन गर्ने र सोहीअनुसार प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने प्रस्ताव अनुमोदन गरिएको हो ।
प्रबन्धपत्र तथा नियमावलीमा गरिने संशोधन वा थपसम्बन्धी विषयमा नियमनकारी निकायबाट कुनै सुझाव वा निर्देशन प्राप्त भएमा सोहीबमोजिम आवश्यक संशोधन तथा परिमार्जन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गरिएको छ ।
नयाँ परियोजनामा लगानी गर्न सञ्चालक समितिलाई अधिकार
साधारणसभाले भविष्यमा लगानीका सम्भावना भएका नयाँ परियोजनाहरू पहिचान गरी आवश्यकताअनुसार लगानी गर्न सञ्चालक समितिलाई अख्तियारी दिएको छ । यस निर्णयले कम्पनीलाई जलविद्युत् आयोजनासँगै अन्य सम्भावित लगानीका क्षेत्रमा समेत विस्तार गर्ने बाटो खोल्ने अपेक्षा गरिएको छ ।
यसअघि कम्पनीले सर्वसाधारणका लागि प्राथमिक सेयर निष्कासन तथा बाँडफाँट प्रक्रिया पूरा गरेको थियो । त्यसपछि सम्पन्न छैटौँ वार्षिक साधारणसभामा कम्पनीको वित्तीय अवस्था, भावी लगानी योजना र संस्थागत संरचनासम्बन्धी विषयले प्राथमिकता पाएका छन् ।
साधारणसभाबाट पारित निर्णयहरू कार्यान्वयन गर्दै कम्पनीको लगानी विस्तार, संस्थागत विकास तथा आगामी व्यावसायिक योजनालाई अघि बढाउने अपेक्षा गरिएको छ ।














