पुरानो यौनकाण्डले फुत्कियो राजदूत, गिरे गिरीबहादुर



काठमाडौं । साउदी अरबका लागि राजदूतमा सिफारिस गरिएका गिरीबहादुर सुनारको नाम संसदीय सुनुवाइ समितिले सर्वसम्मत रूपमा अस्वीकृत गरेको छ। उनीमाथि महिला हिंसा, धम्की, निजी सामग्री दुरुपयोग तथा आर्थिक अनियमिततासम्बन्धी आरोप उठेपछि समितिले नियुक्ति प्रक्रिया अघि नबढाउने निर्णय गरेको हो।

सुनारविरुद्ध परेका उजुरीमा एक महिलासँगको सम्बन्ध, धम्की तथा उनका परिवारका सदस्यलाई अन्तरंग सामग्री पठाएको आरोप लगाइएको थियो। ललितपुर प्रहरीले उपलब्ध गराएको अभिलेखमा २०७५ माघ २९ गते निवेदन परेको र फागुन १ गते मिलापत्र भएको उल्लेख छ।

सुनारले भने आफूविरुद्धका आरोप अस्वीकार गर्दै प्रहरीमा जाहेरी नपरेको र फौजदारी मुद्दा नलागेको बताएका थिए। आर्थिक लेनदेन तथा राजनीतिक सम्बन्धबारे पनि उनीविरुद्ध उजुरी परेको थियो।

समाजशास्त्री तथा विकास क्षेत्रका विज्ञ सुनारसँग अन्तर्राष्ट्रिय विकास, सामाजिक समावेशीकरण र नीतिगत परामर्शमा २५ वर्षभन्दा बढी अनुभव रहेको बताइएको छ। उनी राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनारले स्थापना गरेको हाम्रो नेपाल पार्टीका केन्द्रीय सदस्यसमेत थिए।

सरकारले गत असोज २ गते उनलाई साउदी अरबका लागि राजदूतमा सिफारिस गरेको थियो।

प्रकाशित मिति : २०८३ असोज २९ गते बिहिवार