लक्ष्मण बहादुर शाहीको राजनीतिक आत्मवृत्तान्त ‘आधा अध्याय’ सार्वजनिक



काठमाडौँ। जुम्लाको हिमा गाउँपालिकाका अध्यक्ष तथा गाउँपालिका राष्ट्रिय महासंघका केन्द्रीय उपाध्यक्ष लक्ष्मण बहादुर शाहीको राजनीतिक आत्मवृत्तान्त ‘आधा अध्याय’ सार्वजनिक भएको छ। नेपाली कांग्रेसका उपसभापति मधु आचार्य, महामन्त्री उदयशमशेर राणा र संसदीय दलकी सचेतक बासना थापालगायतले बुधबार आयोजित विशेष समारोहमा पुस्तक लोकार्पण गरेका हुन्।

करिब चार वर्षको लेखन तथा तयारीपछि सार्वजनिक गरिएको पुस्तकमा शाहीको राजनीतिक जीवनका अनुभव, संघर्ष, सफलता र समाजसँग जोडिएका भोगाइ समेटिएका छन्। पुस्तकमार्फत उनले आफ्नो राजनीतिक यात्राका विभिन्न पाटो, जनप्रतिनिधिका रूपमा गरेका प्रयास तथा जीवनमा सिकेका अनुभवलाई पाठकमाझ प्रस्तुत गरेका छन्।

पुस्तक लोकार्पण समारोहमा लेखक शाहीले आफूलाई राजनीतिक पात्र वा अब्बल लेखकका रूपमा प्रस्तुत गर्ने उद्देश्यले पुस्तक नलेखेको स्पष्ट पारे। आफ्नो क्षेत्रमा देखेका, गरेका र गर्न खोजेका काम तथा राजनीतिक जीवनका अनुभवलाई अभिलेख गर्ने उद्देश्यले पुस्तक तयार पारेको उनले बताए।

जनप्रतिनिधिका रूपमा हिमा गाउँपालिकालाई कर्णाली प्रदेशकै पहिलो बालविवाहमुक्त तथा साक्षर गाउँपालिका बनाउन नेतृत्व गर्न पाएकोमा उनले सन्तोष व्यक्त गरे। राजनीति पद र शक्तिको प्रतिस्पर्धा मात्र नभई नागरिकसँगको आत्मीय सम्बन्ध र इमानदार सेवाको माध्यम हुनुपर्ने धारणा पनि उनले राखे।

समारोहमा नेपाली कांग्रेसका महामन्त्री उदयशमशेर राणाले तरुण दलको अध्यक्ष रहँदादेखि नै शाहीसँग आत्मीय सम्बन्ध रहेको स्मरण गरे। उनले शाहीको पारिवारिक तथा राजनीतिक संघर्षका विभिन्न पक्ष पुस्तकमा समेटिएको उल्लेख गरे।

कार्यक्रममा सहभागी अन्य वक्ताहरूले पनि लेखक शाहीको व्यक्तित्व, राजनीतिक यात्रा तथा पुस्तकमा समेटिएका विषयवस्तुबारे चर्चा गरेका थिए। उनीहरूले पुस्तक प्रकाशनका लागि शाहीलाई बधाई दिँदै आगामी यात्राका लागि शुभकामना व्यक्त गरे।

‘आधा अध्याय’मार्फत शाहीले आफ्नो राजनीतिक जीवनका अनुभव, संघर्ष र सिकाइलाई पाठकमाझ ल्याएका छन्। पुस्तकले उनको व्यक्तिगत तथा राजनीतिक यात्राका विभिन्न पक्षलाई अभिलेख गर्दै भावी पुस्ताका लागि अनुभव र स्मरणको दस्तावेजका रूपमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : २०८३ असोज २८ गते बुधवार