सांसद खगेन्द्र सुनारमाथि रास्वपाको आन्तरिक छानबिन, औपचारिक कार्यक्रममा सहभागी हुन रोक



काठमाडौँ, २७ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना प्रतिनिधिसभा सदस्य खगेन्द्र सुनारमाथि गम्भीर आरोपहरू सार्वजनिक भएपछि आन्तरिक छानबिन प्रक्रिया अगाडि बढाएको छ। छानबिनको अन्तिम निष्कर्ष नआएसम्म पार्टीले सांसद सुनारलाई सार्वजनिक पदको हैसियतमा कुनै पनि औपचारिक कार्यक्रममा सहभागी नहुन निर्देशन दिएको छ।

रास्वपा महामन्त्री विपिनकुमार आचार्यद्वारा जारी विज्ञप्तिअनुसार, सांसद सुनारसँग जोडिएका समाचार, सार्वजनिक भएका श्रव्य (अडियो) सामग्री तथा उहाँका विषयमा उठेका प्रश्नहरूप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ।

विज्ञप्तिमा महिलाको मर्यादा र सम्मानमा आँच पुर्‍याउने कार्य, अनुचित दबाब, अवाञ्छित धम्की तथा शंकास्पद आर्थिक लेनदेनजस्ता विषयलाई पार्टीले अत्यन्त गम्भीर र संवेदनशील रूपमा लिएको जनाइएको छ। ती आरोपहरूको सत्यतथ्य पत्ता लगाउन केन्द्रीय अनुशासन आयोगलाई तत्काल छानबिन थाल्न निर्देशन दिइसकिएको छ।

महिलामाथि हुने दुर्व्यवहार, पदीय मर्यादाको उल्लंघन र फौजदारी कसुरका विषयमा रास्वपा ‘शून्य सहनशीलता’ (Zero Tolerance) को नीतिमा स्पष्ट रहेको विज्ञप्तिमा उल्लेख छ।

साथै, राज्यका सम्बन्धित निकायबाट हुने स्वतन्त्र, निष्पक्ष र तथ्यपरक अनुसन्धानमा पार्टीको तर्फबाट पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गरिएको छ। ‘कानुनभन्दा माथि कोही हुँदैन’ भन्ने लोकतान्त्रिक मान्यता दोहोर्‍याउँदै रास्वपाले राज्यको अनुसन्धान र आन्तरिक छानबिनबाट प्राप्त निष्कर्षका आधारमा कानुन र पार्टी विधानबमोजिम थप कदम चालिने स्पष्ट पारेको छ। गैरकानुनी वा पदीय आचरणविपरीत कार्य गर्ने जोकोहीलाई पनि राजनीतिक संरक्षण नदिइने प्रतिबद्धता विज्ञप्तिमा जनाइएको छ।

प्रकाशित मिति : २०८३ असोज २७ गते मङ्गलवार