स्थापित योजना सहकारीको १७औँ साधारणसभा सम्पन्न, ३८ करोडभन्दा बढी कारोबारको लक्ष्य



काठमाडौं । काठमाडौं महानगरपालिका–१६, नयाँबजारस्थित स्थापित योजना बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको १७औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ। संस्थाका अध्यक्ष प्रदीप श्रेष्ठको अध्यक्षतामा सम्पन्न सभामा सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, विभिन्न उपसमितिका प्रतिनिधि, पूर्वसञ्चालक तथा सेयर सदस्यहरूको सहभागिता रहेको थियो।
साधारणसभामा संस्थाको आर्थिक अवस्था, आगामी आर्थिक वर्षका नीति तथा कार्यक्रम, वित्तीय व्यवस्थापन, सदस्यलाई प्रदान गरिने सेवा र संस्थागत सुशासनका विषयमा छलफल गरिएको थियो।
सभालाई सम्बोधन गर्दै अध्यक्ष श्रेष्ठले विश्वव्यापी आर्थिक मन्दी, बैंक तथा वित्तीय क्षेत्रमा देखिएको शिथिलता तथा राजनीतिक र सामाजिक उतारचढावका कारण सहकारी क्षेत्रले विभिन्न चुनौती सामना गर्नुपरेको बताउनुभयो। चुनौतीपूर्ण परिस्थितिका बाबजुद सदस्यहरूको विश्वास, प्रभावकारी व्यवस्थापन र आन्तरिक वित्तीय अनुशासनका आधारमा संस्था सुधारको दिशामा अघि बढिरहेको उहाँले उल्लेख गर्नुभयो।
सदस्यहरूको बचत सुरक्षा, वित्तीय पारदर्शिता र संस्थाको दिगो विकासलाई प्राथमिकतामा राखेर आगामी कार्यक्रम सञ्चालन गरिने अध्यक्ष श्रेष्ठको भनाइ थियो।
सभामा प्रस्तुत आर्थिक वर्ष २०८२/०८३ को बजेट, नीति तथा कार्यक्रमअनुसार संस्थाले कुल कारोबार तथा सम्पत्ति ३८ करोड ३० लाख ९१ हजार ९५३ रुपैयाँ पुर्‍याउने लक्ष्य लिएको छ। त्यस्तै, सेयर पुँजी ४ करोड ९० लाख ५५ हजार ८०० रुपैयाँ र जगेडा कोष १ करोड ८४ लाख १० हजार ३९१ रुपैयाँ पुर्‍याउने प्रक्षेपण गरिएको छ।
संस्थाले उक्त आर्थिक वर्षमा निक्षेप दायित्व २५ करोड १४ लाख ४६ हजार ७८२ रुपैयाँ र कर्जा लगानी २५ करोड ३३ लाख ९० हजार ९०१ रुपैयाँ पुर्‍याउने लक्ष्यसमेत निर्धारण गरेको छ। यस अवधिमा करपछिको खुद नाफा २८ लाख ५२ हजार ४६ रुपैयाँ आर्जन गर्ने अनुमान गरिएको छ। संस्थाको वित्तीय अवस्था सुदृढ बनाउने, कर्जाको प्रभावकारी व्यवस्थापन गर्ने र वित्तीय अनुशासन कायम राख्ने विषयलाई बजेटमा प्राथमिकता दिइएको छ।
डिजिटल सेवाको विस्तारमा जोड
सदस्यलाई छिटो, सहज र प्रविधिमैत्री सेवा उपलब्ध गराउने उद्देश्यले संस्थाले डिजिटल प्रविधिको प्रयोग विस्तार गर्ने योजना अघि सारेको छ। यसअन्तर्गत ‘लाइभ भौचर प्रिन्ट’ तथा ‘डिपोजिट भौचर प्रिन्ट मेसिन (पीओएस डिभाइस)’ प्रयोगमा ल्याउने र क्यूआर कोड तथा मोबाइल बैंकिङ सेवाको पहुँच विस्तार गर्ने लक्ष्य राखिएको छ।
प्रविधिको प्रयोग बढाएर सेवा प्रवाहलाई थप सरल, व्यवस्थित र प्रभावकारी बनाउने संस्थाको योजना रहेको छ। यसले सदस्यको समय बचत गर्नुका साथै दैनिक वित्तीय कारोबारलाई सहज बनाउने अपेक्षा गरिएको छ।
बचत तथा कर्जा सेवातर्फ संस्थाले दैनिक ५०० देखि १० हजार रुपैयाँसम्म जम्मा गर्न सकिने क्रमिक बचत योजना, आवधिक बचत योजना तथा घरजग्गा धितो, व्यावसायिक र अल्पकालीन कर्जालाई विस्तार गर्ने नीति लिएको छ। साथै, भाखा नाघेका कर्जाको असुलीलाई तीव्रता दिने र कर्जा प्रवाह तथा व्यवस्थापनमा आन्तरिक नीति र नियमको प्रभावकारी कार्यान्वयन गर्ने योजना बनाइएको छ।
शैक्षिक सम्मान र सामाजिक उत्तरदायित्वलाई निरन्तरता
संस्थाले वित्तीय कारोबारसँगै सामाजिक उत्तरदायित्वअन्तर्गतका कार्यक्रमलाई पनि निरन्तरता दिने जनाएको छ। सेयर सदस्यका सन्तानमध्ये एसईई परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई सम्मान गर्ने कार्यक्रमलाई प्राथमिकता दिइएको छ।
त्यसैगरी, ‘क’ वर्गका अपाङ्गता भएका सदस्य तथा ज्येष्ठ नागरिक सेयर सदस्यलाई स्वास्थ्य र सामाजिक सहयोग उपलब्ध गराउने योजना पनि संस्थाले अघि सारेको छ। यस्ता कार्यक्रममार्फत सदस्यसँगको सम्बन्ध थप सुदृढ बनाउनुका साथै शिक्षा र सामाजिक क्षेत्रमा योगदान पुर्‍याउने लक्ष्य राखिएको छ।
साधारणसभाले सञ्चालक समितिको प्रतिवेदन, कोषाध्यक्षद्वारा प्रस्तुत आर्थिक बजेट, लेखापरीक्षकको प्रतिवेदनलगायत सभामा पेस गरिएका प्रस्तावहरू सर्वसम्मतिले पारित गरेको छ।
सभाको समापनमा संस्थाका कार्यकारी प्रमुख सन्दीप अधिकारी र सचिव डि.बी. ढकालले सदस्यहरूको बचतको सुरक्षा, वित्तीय पारदर्शिता र प्रभावकारी सेवा प्रवाहलाई प्राथमिकतामा राख्दै संस्थालाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।
संस्थाले आगामी दिनमा वित्तीय अनुशासन, डिजिटल सेवाको विस्तार, कर्जा व्यवस्थापनमा सुधार तथा सदस्यकेन्द्रित कार्यक्रममार्फत सहकारीलाई व्यवस्थित, पारदर्शी र विश्वसनीय बनाउने लक्ष्य लिएको जनाएको छ।

प्रकाशित मिति : २०८३ असोज २४ गते शनिवार