ललितपुर । पञ्चशील बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २६औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। ललितपुरको जावलाखेलस्थित नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान (स्टाफ कलेज) मा सम्पन्न साधारण सभाले संस्थाको आर्थिक तथा संस्थागत प्रगतिको समीक्षा गर्दै आगामी वर्षका नीति, कार्यक्रम, बजेट र कार्यदिशा तय गरेको छ।
संस्थाका अध्यक्ष देवेन्द्र प्रसाद श्रेष्ठको अध्यक्षतामा सम्पन्न सभामा आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रतिवेदन, वित्तीय अवस्था, लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन तथा आगामी कार्ययोजनामाथि छलफल गरिएको थियो।
संस्थाका अनुसार समीक्षा अवधिमा पञ्चशीलले २ अर्ब ८७ करोड २ लाख ५४ हजार ४१७ रुपैयाँ बराबरको कारोबार गरेको छ। संस्थाको कार्यक्षेत्र ललितपुरसहित काठमाडौं, भक्तपुर, काभ्रेपलाञ्चोक, सिन्धुली, मकवानपुर र चितवनसम्म विस्तार भएको छ। हाल संस्थामा ४९ जना कर्मचारी कार्यरत छन्।
एकीकरण र लाभांशसम्बन्धी प्रस्ताव
साधारण सभामा विभिन्न कोषमा रहेको रकम जगेडा कोषमा रकमान्तर गर्ने, सहकारी एकीकरण गर्ने, शेयर लाभांश, संरक्षित पूँजी फिर्ता कोष तथा कर्मचारी बोनससम्बन्धी प्रस्तावमाथि छलफल गरिएको थियो।
त्यसैगरी कर्जा कारोबारलाई थप व्यवस्थित र प्रभावकारी बनाउने तथा संस्थाका आन्तरिक नीति, नियमावली र कार्यविधिलाई समयअनुकूल परिमार्जन गर्ने विषयमा पनि सभामा छलफल भएको जनाइएको छ।
सदस्य तथा सदस्यका परिवारका उत्कृष्ट विद्यार्थीलाई सम्मान गर्ने कार्यक्रमलाई निरन्तरता दिने विषयलाई समेत संस्थाले प्राथमिकतामा राखेको छ।
डिजिटल सेवाको विस्तारमा जोड
पञ्चशीलले ‘प्रविधिमा सहकारी’ भन्ने अवधारणाअनुसार सञ्चालनमा ल्याएको Panchashil Smart Mobile Banking सेवालाई आगामी दिनमा थप विस्तार गर्ने जनाएको छ।
मोबाइल बैंकिङमार्फत मोबाइल रिचार्ज, इन्टरनेट तथा टेलिभिजनको बिल भुक्तानी, फन्ड ट्रान्सफर, अन्तरबैंक रकम स्थानान्तरण, मिनी स्टेटमेन्ट, क्यूआरमार्फत रकम झिक्ने सुविधा, हवाई टिकट खरिद, बीमा भुक्तानी तथा मेरो शेयर र डिम्याट नवीकरणलगायतका डिजिटल सेवा उपलब्ध हुँदै आएका छन्।
साधारण सभाले आर्थिक वर्ष २०८३/०८४ का लागि प्रस्तावित नीति, कार्यक्रम तथा बजेटमाथि छलफल गर्दै सदस्य सेवा विस्तार, प्रविधिको आधुनिकीकरण, वित्तीय व्यवस्थापन, सुशासन र कर्मचारीको क्षमता अभिवृद्धिलाई प्राथमिकतामा राख्ने निर्णय गरेको छ।
सभालाई सम्बोधन गर्दै अध्यक्ष श्रेष्ठले सदस्यहरूको विश्वास, सक्रिय सहभागिता र सुझाव संस्थाको निरन्तर विकासका लागि महत्वपूर्ण रहेको बताए। उनले संस्थालाई आगामी दिनमा थप पारदर्शी, उत्तरदायी, प्रविधिमैत्री र प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरे।












