काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत जारी बन्दसत्रमा पार्टी सभापति गगनकुमार थापाले विगतका कमीकमजोरीको निर्मम आत्मसमीक्षा र रूपान्तरणको स्पष्ट खाकासहित ‘राष्ट्रिय पुनर्जागरण र समुन्नति’ शीर्षकको राजनीतिक प्रस्ताव पेस गरेका छन्। प्रस्तावमा जननायक बीपी कोइरालाको आदर्श—राष्ट्रियता, लोकतन्त्र र समाजवादलाई २१औँ शताब्दीको परिवर्तित परिवेशअनुसार व्याख्या गर्दै ‘समुन्नत नेपाल र सम्मानित नेपाली’ निर्माणलाई पार्टीको मुख्य राजनीतिक ध्येय घोषणा गरिएको छ।
सत्ता र पदको भागबन्डामा अल्झिँदा पार्टी र नागरिकबीच दूरी बढेको स्वीकार गर्दै दस्तावेजमा निर्वाचनपूर्व गरिने अप्राकृतिक गठबन्धनको अन्त्य गर्ने र आफ्नै विचार एवं उम्मेदवारका आधारमा जनविश्वास आर्जन गर्ने प्रतिबद्धता जनाइएको छ।
साथै, संसद्मा प्रतिपक्षको भूमिकालाई केवल सत्ताको विरोधमा सीमित नराखी प्रभावकारी खबरदारी र विश्वसनीय वैकल्पिक नीतिका रूपमा विकास गरिने उल्लेख छ।
आर्थिक दृष्टिकोणमा थापाले परम्परागत वितरणमुखी ढाँचालाई त्याग्दै निजी क्षेत्र–मैत्री (उदार), उत्पादनमुखी (उच्च आर्थिक वृद्धि) र सामाजिक न्याय–केन्द्रित तीन खम्बे अर्थतन्त्रको प्रस्ताव अघि सारेका छन्। नागरिकलाई राज्यमाथि आश्रित बनाउनुको साटो शिक्षा, स्वास्थ्य, सीप र उद्यमशीलताको विकास गरी श्रम र पुँजीको मालिक बनाउने नीति दस्तावेजमा समावेश छ।
यसका साथै भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता, कार्यकारी पदमा दुई कार्यकालको संवैधानिक सीमा, र संस्थागत सुशासन कायम गर्न ‘गभर्नेन्स इन्स्टिच्युट’ तथा ‘निर्वाचन ब्युरो’ जस्ता संरचनागत संयन्त्र निर्माणको योजना अघि सारिएको छ। संगठनात्मक रूपान्तरणका लागि पाँच पुस्ताको सहयात्रा सुनिश्चित गर्न १८ देखि २१ वर्ष उमेर समूहका लागि ‘युथ काउन्सिल’ र अग्रजहरूको अनुभव सदुपयोग गर्न ‘विज्डम काउन्सिल’ गठन गर्ने प्रस्ताव गरिएको छ।
पार्टी सदस्यतालाई पूर्ण डिजिटलाइज गर्ने, उम्मेदवार चयनमा प्राथमिक निर्वाचन ९प्राइमरी० प्रणाली लागू गर्ने र पार्टीको आन्तरिक लोकतन्त्रलाई पारदर्शी बनाउने संकल्प गर्दै सभापति थापाले आगामी चार वर्षको कार्यकालमा कांग्रेसलाई भाषणमा नभई परिणाम र नागरिकको जीवनस्तर सुधार्ने काममा केन्द्रित गर्ने स्पष्ट पारेका छन्।
पूर्णपाठ-











