जोरपाटी बचत तथा ऋण सहकारीको २१औँ वार्षिक साधारणसभा सम्पन्न



काठमाडौं । जोरपाटी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २१औँ वार्षिक साधारणसभा आज सम्पन्न भएको छ। जोरपाटीस्थित छिमेकी पार्टी प्यालेसमा आयोजित साधारणसभा संस्थाका शेयर सदस्य तथा प्रतिनिधिहरूको उपस्थितिमा सम्पन्न भएको हो।

संस्थाको सञ्चालक समितिको आयोजनामा सम्पन्न सभामा आर्थिक वर्ष २०८२/०८३ का विभिन्न विषयमा छलफल तथा निर्णय गरिएको छ। सभामा संस्थाका अध्यक्षको वार्षिक प्रगति प्रतिवेदन, आर्थिक प्रतिवेदन तथा आगामी आर्थिक वर्षका लागि प्रस्तावित नीति तथा कार्यक्रममाथि छलफल गरी पारित गरिएको जनाइएको छ।

साधारणसभामा निर्णय पुस्तिका प्रमाणीकरणका लागि प्रतिनिधि चयन, सञ्चालक समितिका तर्फबाट अध्यक्षको वार्षिक प्रगति प्रतिवेदन तथा आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि प्रस्तावित नीति तथा कार्यक्रम पारित गर्ने, कोषाध्यक्षको आर्थिक प्रतिवेदन तथा आगामी आर्थिक वर्षको प्रस्तावित बजेटमाथि छलफल गरी पारित गर्ने विषय समेटिएका थिए।

त्यस्तै, लेखा सुपरीवेक्षण समितिको प्रतिवेदनमाथि छलफल तथा पारित, आर्थिक वर्ष २०८२/०८३ का लागि बाह्य लेखापरीक्षकको प्रतिवेदन पारित गर्ने, आर्थिक वर्ष २०८३/०८४ का लागि बाह्य लेखापरीक्षक नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने विषयमा समेत निर्णय गरिएको छ।
सभाले संस्थाको विनियम संशोधन, आन्तरिक नीति तथा कार्यविधिहरू संशोधन तथा निर्माण गरी पारित गर्ने, अन्य सहकारी संस्थासँग एकीकरण गर्ने विषय, लाभांश तथा संरक्षित पुँजीफिर्ता कोष वितरण अनुमोदन तथा सञ्चालक समितिका निर्णय अनुमोदनलगायतका प्रस्तावमा समेत छलफल गरेको थियो।

सभाको अन्त्यमा विविध विषयमा समेत छलफल गरिएको थियो।
जोरपाटी बचत तथा ऋण सहकारी संस्था लिमिटेड गोकर्णेश्वर नगरपालिका–६, जोरपाटी, नारायणटार, काठमाडौंमा रहेको छ। संस्थाले ‘नियमित बचत, सुनिश्चित भविष्य’ भन्ने नाराका साथ सहकारी सेवा प्रदान गर्दै आएको छ।

प्रकाशित मिति : २०८३ असोज १७ गते शनिवार