शिवश्री बहुउद्देश्यीय सहकारीको १०औँ साधारण सभा सम्पन्न: संस्थागत सुशासन र सदस्य हित प्राथमिकतामा



काठमाडौंमा शिवश्री बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको १०औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। संस्थाका अध्यक्ष भीमप्रसाद तिमिल्सिनाको अध्यक्षतामा आयोजना गरिएको उक्त साधारण सभामा सहकारीको समग्र आर्थिक स्थिति, वार्षिक प्रगति तथा आगामी रणनीतिबारे विस्तृत छलफल गरी विभिन्न महत्त्वपूर्ण निर्णयहरू लिइएका छन्।

कार्यक्रमको सुरुआतमा कविराज तिमिल्सिनाले स्वागत मन्तव्य व्यक्त गर्दै उपस्थित सबैलाई स्वागत गर्नुभएको थियो। साधारण सभामा सञ्चालक समिति, लेखा तथा सुपरीवेक्षण समितिका सदस्य, शेयर सदस्य र सम्बन्धित अधिकारीहरूको सक्रिय सहभागिता रहेको थियो।

समारोहलाई सम्बोधन गर्दै अध्यक्ष तिमिल्सिनाले आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभयो। प्रतिवेदनमार्फत उहाँले संस्थाका उपलब्धि, भइरहेका गतिविधि र सहकारीलाई अझ सबल, सुशासित र प्रविधिमैत्री बनाउने योजनाबारे स्पष्ट पार्नुभयो।

अध्यक्ष तिमिल्सिनाले सदस्यहरूको हितलाई प्राथमिकतामा राखेर नै सहकारीको दिगो विकास सम्भव हुने बताउनुभयो। उहाँले वित्तीय अनुशासन, पारदर्शिता र सेवाको गुणस्तर अभिवृद्धि गर्दै संस्थागत जग बलियो बनाउनुपर्नेमा जोड दिनुभयो।

सभाले आर्थिक वर्ष २०८२/०८३ को सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन तथा वित्तीय विवरणहरू सर्वसम्मतिले पारित गरेको छ। यसका साथै आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि अनुमानित बजेट र कार्यक्रमहरूसमेत पारित गरिएका छन्।

यसैगरी आगामी आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमिक निर्धारण, कोष बाँडफाँड, शेयर लाभांश तथा संरक्षित पूँजी कोषको रकम वितरणसम्बन्धी प्रस्तावहरू स्वीकृत भएका छन्। सभामा निर्णय पुस्तिकामा हस्ताक्षरका लागि शेयर सदस्यहरूका तर्फबाट प्रतिनिधि चयनसमेत गरिएको छ।

संस्थाले साधारण सभालाई सदस्यहरूबीच संस्थाको समृद्धि र सुधारका लागि विचार आदानप्रदान गर्ने मुख्य मञ्चका रूपमा लिएको जनाएको छ। शिवश्री बहुउद्देश्यीय सहकारीले आगामी दिनमा संस्थागत सुशासन र सदस्यकेन्द्रित सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।

प्रकाशित मिति : २०८३ असोज १७ गते शनिवार