नेपाली होटल व्यवसायी संघको अध्यक्षमा सामदेन लामा निर्वाचित



काठमाडौं । नेपाली होटल व्यवसायी संघको अध्यक्षमा सामदेन लामा (दीपक) निर्वाचित भएका छन्। संघको २४औँ वार्षिक साधारण सभा तथा १४औँ अधिवेशनबाट लामाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो।
२ असोज २०८३, शुक्रबार सम्पन्न अधिवेशनले आगामी दुई वर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गरेको हो। अधिवेशनको उद्घाटन समारोह संघका निवर्तमान अध्यक्ष गणेश ढकालको सभापतित्वमा सम्पन्न भएको थियो।
नवनिर्वाचित कार्यसमितिको अध्यक्षमा सामदेन लामा (दीपक), महासचिवमा ईन्द्र प्रसाद ढकाल, सचिवमा प्रकाश शर्मा र कोषाध्यक्षमा बिमल चौहान चयन भएका छन्।
अध्यक्षमा निर्वाचित लामाले होटल व्यवसायीहरूको हकहित संरक्षणसँगै पर्यटन प्रवर्द्धनका क्षेत्रमा संघलाई थप सक्रिय बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले व्यवसायीका समस्या समाधानका लागि सम्बन्धित निकायसँग समन्वय गर्दै संघको भूमिकालाई प्रभावकारी बनाउने बताएका छन्।
नेपाली होटल व्यवसायी संघ २०५७ साल पुस २८ गते जिल्ला प्रशासन कार्यालय काठमाडौंमा विधिवत् दर्ता भएको संस्था हो। संघले होटल व्यवसायीहरूको हकहित संरक्षणका साथै सामाजिक सेवाका क्षेत्रमा समेत काम गर्दै आएको छ।
हाल संघमा काठमाडौंको गोंगबु क्षेत्रका ५०० भन्दा बढी होटल व्यवसायी सदस्यका रूपमा आबद्ध रहेको जनाइएको छ।

प्रकाशित मिति : २०८३ असोज ४ गते आइतवार