रुस-युक्रेन युद्धमा समातिएका दुई उत्तर कोरियाली सैनिक कसरी पुगे दक्षिण कोरिया ?



काठमाडौं । रुसका पक्षबाट युक्रेनविरुद्ध लड्ने क्रममा सन् २०२५ मा युक्रेनी सेनाको कब्जामा परेका दुई उत्तर कोरियाली सैनिक दक्षिण कोरिया पुगेका छन् । उनीहरूलाई युक्रेनले दक्षिण कोरियाको जिम्मा लगाएको हो ।

दुवै सैनिकसँग दक्षिण कोरियामा पहिचान, उत्तर कोरिया छाड्नुको कारण, सुरक्षा तथा युद्धसम्बन्धी विषयमा सोधपुछ गरिनेछ । त्यसपछि उनीहरूलाई संरक्षण र पुनर्वास दिने वा नदिने निर्णय गरिनेछ । यो प्रक्रिया दक्षिण कोरियाको एकीकरण मन्त्रालय र राष्ट्रिय गुप्तचर सेवाले विद्यमान कानुन तथा यसअघिका घटनाका आधारमा अघि बढाउनेछ ।

उत्तर कोरियाली शरणार्थीको संरक्षणसम्बन्धी कानुनानुसार सुरक्षा जाँच तथा अस्थायी संरक्षणको प्रक्रिया सामान्यतः ९० दिनसम्म चल्न सक्छ । यसक्रममा उनीहरूको शारीरिक तथा मानसिक अवस्थाको समेत मूल्यांकन गरिनेछ । रुसमा उत्तर कोरियाली सैनिकको तैनाथी र युद्धमा उनीहरूको भूमिकाबारे महत्त्वपूर्ण जानकारी हुन सक्ने भएकाले थप सोधपुछ हुने अपेक्षा गरिएको छ ।

तेस्रो देशमा कसरी पठाइयो ?
जेनेभा सन्धिअनुसार युद्धबन्दीलाई युद्ध समाप्तिपछि रिहा गरी आफ्नो देश फर्काउने सामान्य व्यवस्था छ । तर, तेस्रो देशमा हस्तान्तरण गर्नै नहुने भन्ने पूर्ण प्रतिबन्ध छैन । यी दुई सैनिकलाई दक्षिण कोरिया पठाउने कानुनी आधारबारे युक्रेन र दक्षिण कोरियाले विस्तृत जानकारी सार्वजनिक गरेका छैनन् ।

रिपोर्टअनुसार, दुवै सैनिकले दक्षिण कोरिया जान इच्छा व्यक्त गरेका थिए । उनीहरूलाई उत्तर कोरिया फर्काउँदा मानव अधिकार वा सुरक्षामा गम्भीर जोखिम हुने अवस्था भए त्यस्तो देशमा जबर्जस्ती नफर्काउने सिद्धान्तअन्तर्गत विचार गर्न सकिने विज्ञको भनाइ छ ।

युक्रेनसँग दक्षिण कोरियाको सहमति

दक्षिण कोरियाले युक्रेनलाई प्रत्यक्ष घातक हतियार उपलब्ध गराउनबाट टाढा रहँदै गैरसैन्य तथा मानवीय सहायता दिँदै आएको छ । जुलाईमा राष्ट्रपति ली जे म्युङले युक्रेनका निम्ति १० करोड डलरको सहायता प्याकेज घोषणा गरेका थिए । त्यसमा घातक हतियार समावेश नगर्ने स्पष्ट गरिएको थियो ।

सोही महिना युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र लीबीच दुई सैनिकको भविष्य उनीहरूको इच्छासँगै अन्तर्राष्ट्रिय कानुन र मानवीय सिद्धान्तका आधारमा टुंग्याउने सहमति भएको थियो ।

तर, संयुक्त राष्ट्रसंघको महासभामा जेलेन्स्कीले दुई सैनिक दक्षिण कोरियाको जिम्मा लगाइएको जानकारी सार्वजनिक गरेपछि सिओलले असन्तुष्टि जनाएको थियो । दक्षिण कोरियाले सैनिक र उत्तर कोरियामा रहेका उनीहरूका परिवारको सुरक्षाका निम्ति विषय गोप्य राख्न आवश्यक रहेको जनाएको थियो । युक्रेनले भने दुई देशबीच त्यस्तो गोपनीयता सम्झौता नभएको जनाएको छ ।

रुसमा कति उत्तर कोरियाली सैनिक छन् ?

उत्तर कोरियाले सन् २०२४ को अन्त्यतिर रुसको कुर्स्क क्षेत्रमा सैनिक पठाएको थियो । अन्तर्राष्ट्रिय अधिकारीहरूको अनुमानानुसार सुरुआतमा करिब १५ हजार सैनिक रुस पुगेका थिए ।

२०२६ अगस्टमा युक्रेनी तथा अन्तर्राष्ट्रिय गुप्तचर निकायहरूले उत्तर कोरियाले थप ३० हजारदेखि ५० हजार सैनिक रुस पठाउने तयारी गरिरहेको आशंका व्यक्त गरेका थिए । युक्रेनी अधिकारीहरूले रुसमा तैनाथ उत्तर कोरियाली सैनिक र क्षेप्यास्त्र युद्धमा प्रयोग भइरहेको दाबी गर्दै आएका छन् ।

२०२५ फेब्रुअरीमा ती सैनिकलाई भेटेका दक्षिण कोरियाली विपक्षी सांसद यु योङ वोनका अनुसार, उनीहरू दुवैजना उत्तर कोरियाको विशेष बलमा कार्यरत थिए । उनीहरूबाट उत्तर कोरियाको सैन्य तालिम, क्षमता र युक्रेन युद्धमा उसको भूमिकाबारे थप जानकारी प्राप्त हुने अपेक्षा गरिएको छ । रोयटर्स, एएफपीलगायत एजेन्सीको सहयोगमा

प्रकाशित मिति : २०८३ असोज १३ गते मङ्गलवार