भक्तपुर । सूर्यविनायक नगरपालिका–२, बालकोटस्थित बालकोट बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २५औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। असोज १० गते शनिबार कौशलटारस्थित ह्वाइट प्यालेस बैंक्वेटमा आयोजित साधारण सभा संस्थाका अध्यक्ष जयराज पौडेलको अध्यक्षता तथा ज्येष्ठ सदस्य रोहित बहादुर राणा क्षेत्रीको विशिष्ट आतिथ्यमा सम्पन्न भएको हो।
साधारण सभामा सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, सेयर सदस्य तथा आमन्त्रित अतिथिहरूको सहभागिता रहेको थियो। सभामा संस्थाको आर्थिक, प्रशासनिक तथा सामाजिक गतिविधिको समीक्षा गर्दै आगामी आर्थिक वर्षका लागि नीति, योजना तथा बजेटसम्बन्धी प्रस्तावहरू छलफल गरी पारित गरिएको छ।
सभामा अध्यक्ष जयराज पौडेलले संस्थाले २५ वर्षको यात्रा पूरा गरेको अवसरमा संस्थापक सदस्य, पूर्व सञ्चालक, कर्मचारी तथा सेयर सदस्यहरूलाई धन्यवाद व्यक्त गरे। उनले ‘बालकोट सहकारीमा प्रत्येक घरको आबद्धता, तपाईंको आर्थिक, सामाजिक विकास हाम्रो प्रतिबद्धता’ भन्ने मूल नाराका साथ संस्था अघि बढिरहेको बताए।
सहकारी बचत संकलन र कर्जा प्रवाहमा मात्र सीमित नभई सदस्यको आर्थिक तथा सामाजिक जीवनस्तर सुधारमा समेत केन्द्रित हुनुपर्नेमा जोड दिँदै अध्यक्ष पौडेलले उद्यमशीलता प्रवर्द्धन, सुशासन, पारदर्शिता र जवाफदेहितालाई संस्थाले प्राथमिकतामा राखेको बताए। साथै, पछिल्ला प्राकृतिक विपद्का कारण प्रभावित भएका नागरिकप्रति उनले समवेदना व्यक्त गरे।
विभिन्न नीति तथा नियमावली संशोधन
संस्थाकी सचिव निर्मला बरालले प्रस्तुत गरेको सचिवको प्रतिवेदनमाथि छलफल गर्दै साधारण सभाले संस्थालाई थप व्यवस्थित, पारदर्शी र समयसापेक्ष बनाउन विभिन्न नीति तथा नियमावली पारित गरेको छ।
सभाबाट विनियम संशोधन तथा परिमार्जन, मानव संसाधन नियमावली, आर्थिक प्रशासन नियमावली, सम्पत्ति शुद्धीकरणसम्बन्धी नियमावली (AML/CFT), बचत नीति तथा ऋण नीति सर्वसम्मत रूपमा पारित गरिएको छ।
६५ करोड बचत निक्षेप पुर्याउने लक्ष्य
संस्थाका कोषाध्यक्ष विजय प्रकाश मिश्रले आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट तथा वित्तीय लक्ष्य प्रस्तुत गरे। उनले वित्तीय अनुशासन, पारदर्शिता, सुशासन तथा सदस्य–केन्द्रित आर्थिक सबलीकरणलाई संस्थाको मुख्य प्राथमिकता रहेको बताए।
उनका अनुसार वित्तीय क्षेत्रमा देखिएको अधिक तरलताका कारण संस्थामा समेत तरलता बढेको छ। लगानीका नयाँ क्षेत्र सीमित हुँदा कर्जा प्रवाह अपेक्षाअनुसार हुन नसकेको र सोही अवस्थालाई ध्यानमा राख्दै बचतमा प्रदान गरिने ब्याजदरमा केही समायोजन गरिएको उनले बताए।
आर्थिक वर्ष २०८३/०८४ का लागि संस्थाले सेयर सदस्य संख्या ४ हजार १७५ पुर्याउने, सेयर पुँजी ४ करोड २५ लाख रुपैयाँ पुर्याउने तथा बचत निक्षेप ६५ करोड रुपैयाँ पुर्याउने लक्ष्य लिएको छ।
त्यस्तै, कुल ऋण लगानी ६० करोड रुपैयाँ, कुल अनुमानित आम्दानी ८ करोड २० लाख रुपैयाँ र कुल अनुमानित खर्च ६ करोड ९० लाख रुपैयाँ कायम गर्ने लक्ष्य प्रस्तुत गरिएको छ।
हाल २०८३ असार मसान्तसम्म संस्थामा ४ हजार १३२ सेयर सदस्य, ३ करोड ५३ लाख ८८ हजार रुपैयाँ सेयर पुँजी, ६३ करोड १ लाख ३२ हजार २८३ रुपैयाँ बचत निक्षेप तथा ६२ करोड १३ लाख ४१ हजार २९९ रुपैयाँ ऋण लगानी रहेको प्रतिवेदनमा उल्लेख छ।
उत्पादनशील क्षेत्रमा कर्जा लगानीमा जोड
संस्थाले आगामी दिनमा निक्षेपको सुरक्षित व्यवस्थापन गर्दै उत्पादनशील तथा सुरक्षित क्षेत्रमा प्राथमिकताका साथ कर्जा लगानी गर्ने जनाएको छ। साथै, प्रभावकारी ऋण असुली, जोखिम न्यूनीकरण, खर्च नियन्त्रण तथा मितव्ययितालाई प्राथमिकतामा राख्ने भएको छ।
सदस्यहरूको वित्तीय साक्षरता र क्षमता अभिवृद्धिका लागि तालिम सञ्चालन गर्ने तथा पारदर्शिता र जवाफदेहिता थप मजबुत बनाउने योजना पनि अघि सारिएको छ।
सामाजिक उत्तरदायित्वलाई निरन्तरता
बालकोट सहकारीले वित्तीय कारोबारसँगै शिक्षा, स्वास्थ्य, वातावरण तथा विपद् व्यवस्थापनका क्षेत्रमा सामाजिक उत्तरदायित्वका कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ। आगामी दिनमा स्वास्थ्य शिविर, रक्तदान, धार्मिक तथा अवलोकन भ्रमण, प्लास्टिक प्रयोग न्यूनीकरणका लागि कपडाको झोला वितरणलगायतका कार्यक्रमलाई निरन्तरता दिने बताइएको छ।
साथै, सदस्यलाई सहज र प्रभावकारी सेवा प्रदान गर्न प्रविधिमैत्री सेवा विस्तार गर्ने संस्थाको योजना छ।
विभिन्न प्रस्ताव पारित
साधारण सभाले आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन, लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन तथा आर्थिक वर्ष २०८३/०८४ को बजेट पारित गरेको छ।
त्यसैगरी, आगामी आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण, संस्था तथा कर्मचारीसम्बन्धी विभिन्न नीति–नियम संशोधन, कर्मचारी तथा सञ्चालक समिति/व्यवस्थापन समितिको तलब तथा भत्ता निर्धारण र निर्णय पुस्तिका प्रमाणीकरणलगायतका प्रस्तावसमेत पारित गरिएको छ।
कार्यक्रमको अन्त्यमा संस्थाका कानुनी सल्लाहकार अधिवक्ता सुरेश कुमार कार्की लगायत अतिथिहरूले संस्थाको २५ वर्षे यात्राको प्रशंसा गर्दै आगामी दिनका लागि शुभकामना व्यक्त गरेका थिए।

















